दल खोल्ने घोषणा गरेका दुर्गा प्रसाईले लगाए राजेन्द्र लिङ्देनमाथि गम्भीर आरोप (भिडियोसहित)

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिटै राजनीतिक दल खोल्ने बताएका छन् । सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दलहरुले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन राजनीतिक दल खोल्न लागेको बताएका हुन् ।
देशको अवस्था परिवर्तनका लागि राष्ट्रिय र स्वाभिमान सहितको पार्टी छिटै घोषणा हुने उनले जानकारी दिए । प्रसाईंले वर्तमान शासन प्रणाली अन्तर्गत नै राजनीतिक शक्ति निर्माणका लागि दल खोल्ने निर्णयमा पुगिएको जिकिर गरिन् ।
उनले अब राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका केन्द्रीत हुने उल्लेख गरे ।
‘म राजनीतिक चेत बोकेको एक सफल व्यवसायी हुँ । देशको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाट टुलुटुलु हेरेर बस्न शान्ति र अमनचयनको अनुभूति मैले गर्न सकिन । मेरा लागि म र परिवार भन्दा पनि नेपाल र नेपाली प्राथमिकताका विषय बन्न पुगेका छन् । तसर्थ मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौँ’, उनले भने ।
प्रसाईंले गत चैत १५ गते तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले नै आफूमाथि गोली चलाएको आरोप लगाएका छन् । राज्यसत्ता आफ्नो आन्दोलनबाट आत्तिएकाले विभिन्न लान्छना लगाएको समेत उनले जिकिर गरे । ‘हाम्रो अभियानले आम नागरिकलाई सचेत गरायो । चैत १५ गते मार्छन् भन्ने हामी सबैलाई थाहा थियो । म तयारीसाथ गएको थिएँ । तीनकुने पुग्नु ४५ मिनेट अगाडि नै गोली चलेको थियो । मञ्चको पछाडिको घरबाट गोली मलाई चलाएको थियो । अघिल्लो दिन नै तलाई मार्छ भनेको थियो । राज्यसत्ता हामीसँग डरायो । जो नयाँ शक्ति आउँछ, राज्यसत्ता डराउँछ’, उनले भने, ‘धक्कामुक्का नगर्नोस् भन्दाभन्दै पनि गोली चलायो । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ ।
प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाएका छन् ।
‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमीले धोका दिन सक्दैनौँ । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’, उनले भने ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया