जनार्दनलाई प्रचण्डको जवाफ– सिंगोरी खेल्ने मौका दिएको छु, नेतृत्व परिवर्तन सम्भव छैन

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएको बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले आफुले सधै फरक मत र बिचारलाई सम्मान गर्ने गरेको बताएका हुन् । भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएकाले पार्टीभित्र आफ्नो आलोचना हुने गरेको समेत उनले बताए । प्रचण्डले ३६ बर्ष कम्युनिष्ट आन्दोलन र माओवादीको नेतृत्व गर्दा आफुले किरण, बाबुराम, बादल लगाएत कुनै नेताहरुमाथि कारवाही नगरेको उल्लेख गरे ।
उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै प्रचण्डले अहिले पनि पार्टीका केहि नेताहरुले सिंगोरी खेल्न खोजेको भन्दै पर्याप्त सिंगोरी खेल्ने मौका दिएको प्रचण्डको भनाइ छ । शर्माले पार्टी नेतृत्व र विधिमाथि प्रश्न उठाइरहेको बेलामा उनले त्यसतर्फ लक्षित गर्दै सिँगौरी खेल्न आफूले छुट दिएको जिकिर गरे ।
यसअघि मंगलबार उपमहासचिव शर्माले एक कार्यक्रममा बोल्दै माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको बताएका थिए । उनले पार्टीमा निरङ्कूशता र व्यक्तिवादी हाबी भएको दाबी गरेका थिए ।
प्रचण्डको जवाफ थियो, ‘धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, प्रचण्डबाहेक, म यसो सोध्छु राति सुत्ने बेला सोच्छु, एकमनले सोच्छु अब छाड्दिऊँ कि के हो बेकार, भन्या जस्तो लाग्छ । फेरि एक मनले विचार ग¥यो मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि भन्ने डर लाग्छ ।’
विगतदेखि नै प्रचण्डलाई चुनौति दिदै आएका जनार्दनले फेरी नेतृत्व परिवर्तनको कुरा गरेका हुन् ।
फागुन २०८० मा भएको विधान महाधिवेशनसँगै प्रचण्ड र शर्माबीच दूरी बढेको थियो । उपमहासचिव शर्माले अध्यक्षसहित सबै पदाधिकारी महाधिवेशनको हलबाट चुनिनुपर्ने मत राखेका थिए । त्यसलाई लिएर पार्टी नेतृत्वले आफू र निकट नेताहरुलाई जिम्मेवारी नदिएको गुनासो शर्माले गर्दै आएका थिए । जनार्दनले नेतृत्वमै दाबी गरेको जसरी प्रस्तुत भएपछि प्रचण्ड रिसाएका थिए । पछि महासचिवमा दाबी गरेका जनार्दनलाई उपमहासचिव बनाएपछि सम्बन्ध झन बिग्रिएको थियो । केही समय मत्थर भएको दुई जनाको तिक्तता फेरी बल्झिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया