केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउने एमालेको रणनीति, मध्यरातमा आयो यस्तो निर्णय

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय च्यासलमा १० घण्टा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।
यसअघिको व्यवस्था हटाउनुको मुख्य कारण हालका अध्यक्ष केपी ओलीलाई तेस्रो पटक पनि अध्यक्ष बनाउनु रहेको बुझिएको छ । उमेरहद र २ कार्यकालको व्यवस्था नहटाउने हो भने अब ओली अध्यक्ष बन्ने बाटो बन्द हुन्छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था उल्लेख थियो । मध्यरात सकिएको सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको हो ।
बैठकमा भएको छलफल अनुसार यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद पनि हटाउने प्रस्तावमा सहमति भएको बताइएको छ । वरिष्ठ उपाध्यक्ष पद खारेज गर्न खोज्नुको कारण ईश्वर पोखरेललाई जिम्मवारीमुक्त गर्न खोजिएको रुपमा हेरिएको छ । किनकी पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा अभिव्यक्ति दिएका थिए ।
त्यस्तै पूर्व राष्ट्रपति विद्या भण्डारीबारे शीर्ष तहमा छलफल गरेर उचित निर्णय र व्यवस्था गर्ने नेताहरूबिच छलफल भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया