Techie IT
  • १ साउन २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

‘मिटर ब्याज’का नाइके राजकुमार बराल पक्राउ


काठमाडौं । ‘मिटर ब्याज’का नाइकेका रूपमा चिनिँदै आएका राजकुमार बराललाई प्रहरीले पक्राउ गरेको छ । बरालविरुद्ध वर्षौंदेखि दर्जनौं उजुरी परे पनि उनी शक्ति केन्द्रको आडमा सजिलै उम्कँदै आएका थिए । उनको पक्राउलाई प्रहरी संगठनको एक महत्वपूर्ण उपलब्धि मानिएको छ । बरालविरुद्ध काठमाडौं उपत्यका लगायतका क्षेत्रमा मिटर ब्याजमा ऋण दिई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, चेकमार्फत धम्की दिने, व्यक्तिलाई अपहरण गरि थुन्ने र सहयोग नपुगेमा झुटा मुद्दा लगाउने जस्ता आरोपहरू छन् ।

बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं लगानी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई अपराधिक लाभ मुद्दामा सोमबार डिल्लीबजारबाट पक्राउ गरिएको हो । बरालको धम्की र अत्यधिक ब्याजको दबाबका कारण बिजुली बजार क्षेत्रकै एक जना घरधनीले आत्महत्या गरेका थिए । त्यस्तै, बानेश्वर बस्ने सतिश श्रेष्ठ नामक व्यक्ति पनि बरालको डरले वेपत्ता छन् । श्रेष्ठका परिवारले प्रहरीमा उजुरी दिनसमेत सकेका छैनन्, बरालले उनीहरूलाई बारम्बार धम्की दिने गरेको थियो । बराललाई १५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताइएको छ ।

बरालले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध उजुरी दिएका थिए । सोही आधारमा भेटवाल पक्राउ परे । पछि भेटवालले आफुलाई बरालले मिटरब्याजमा पैसा लगाएको बताए । बरालविरुद्ध नै मिटरब्याजको उजुरी दिए । भेटवालले गृह मन्त्रालयसम्म पहुँच पुर्याएपछि बराल नै यतीबेला पक्राउ परेका छन् । उता भेटवाल भने छुटिसकेका छन् । बरालले भेटवालविरुद्ध करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दा हालेका थिए ।

को हुन् बराल ?
कक्षा ८ मा फेल भएपछि २०६८ सालतिर कतार पसेका बराल चप्पल पड्काउँदै फर्किएपछि छोटो समयमा अकूत सम्पत्तिको मालिक बने । जनकपुरमा काकाको छोराको नाममा परीक्षा दिलाएको आरोपमा कारवाहीमा परेपछि उनी कतार गएका थिए । फर्किएपछि उनी काठमाडौंको बिजुली बजार क्षेत्रमा घर, गाडी, सहकारी संस्था चलाउन पुगे। उनका नाममा मात्र होइन, विना आयस्रोत रहेका आफन्त—बैनी, ज्वाइँहरूको नाममा समेत सम्पत्ति छ ।

बरालविरुद्ध प्रहरी र अदालतमा उजुरी र प्रमाण पुगे पनि शक्ति केन्द्रको संरक्षणका कारण उनी अहिलेसम्म उम्कँदै आएका थिए । बरालका गतिविधिमा संलग्न व्यक्तिहरूमा पूर्वप्रशासक, भूपू प्रहरी अधिकारी, राजनीतिज्ञहरू र कानुन व्यवसायीहरू समेत रहेको खुलेको छ । दरबारमार्गस्थित एक घरको हकमा बरालका नजिकका माधव थापा नामक व्यक्तिको नाम समेत मिटर ब्याजमा संलग्नताका रूपमा उल्लेख गरिएको छ ।

बरालको नाममा रहेको हुन्डाई कम्पनीको नीलो कार (प्र.नं. बा. ११ च ०१४१) अपहरण र धम्कीका घटनामा प्रयोग भएको बताइएको छ । सतिश श्रेष्ठ अपहरणमा सोही गाडी प्रयोग भएको, हाल गाडी पनि हराएको र कर समेत नतिरेको रिपोर्ट छ ।

बराल पक्राउपछि अनुसन्धानमा प्रभाव पार्न उच्च नेतादेखि पूर्वप्रशासकसम्मका व्यक्तिहरूले दवाव दिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए । बरालविरुद्ध उजुरी दिनेहरूले प्रहरी र अदालत दुवैबाट न्याय नपाएको गुनासो गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार
ट्याग : #rajkumar baral, #राजकुमार बराल

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode