के कारणले माधव नेपालमाथि लाग्यो मुद्धा ? यस्तो छ पतञ्जली प्रकरणको नालीबेली

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसमेत ९३ जना उपर विशेष अदालतमा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गर्दा माधव नेपालको संलग्नता रहेको अख्तियारको आरोप रहेको छ ।
अख्तियारको आरोपपत्रमा भनिएको छ–‘पूर्वप्रधानमन्त्री नेपालले दबाब दिएर मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरी÷गराई मन्त्रिपरिषद्को मिति २०६६।१२।०६ को बैठकबाट उक्त कम्पनीको हदभन्दा बढी जग्गा बिक्री गर्न दिने निर्णय गरे÷गराएको देखिन्छ,’ उनीमाथिको आरोपमा भनिएको छ, ‘यसरी तीन महिनाको सीमित÷छोटो अवधिमा माथि उल्लिखित कार्य गरे÷गराएको देखिएबाट निज प्रतिवादी माधवकुमार नेपालको बदनियत थप पुष्टि भएको देखिन्छ ।’
आरोपपत्रमा ५ सय ९४ रोपनी ५ आना १ पैसा खरिद गरेको र जग्गाको मूल्याङ्कन रकम १८ करोड ५८ लाख ५० हजार रहेको देखिएको रेग्मीले बताए । त्यस्तै हदबन्दी भन्दा बढि बेचेको जग्गा ३ सय १४ रोपनी १५ आना दुई पैसा १ दाम रहेको देखिएको उनले जानकारी दिए । नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतले जनाएको छ ।
दफा ३ मा १ करोडभन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि ८ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।
अख्तियारले उनीमाथि थप सजायको माग पनि गरेको छ । संवैधानिक अंग वा राष्ट्रपतिबाट मनोनित हुने व्यक्तिले भ्रष्टाचार गरेमा कूल सजायको थप ३ वर्ष कैद बस्नुपर्ने कानुनी व्यवस्था छ ।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला नेपाल नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो । सोही जग्गा विक्री गर्न अनुमति दिने निर्णय पनि नेपाल नेतृत्वकै सरकारले गरेको थियो । यद्यपि पूर्व प्रधानमन्त्री नेपालले भने आफूले पञ्जली प्रकरणमा कुनै नाजायज काम नगरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओली धेरै पहिलेदेखि आफूविरुद्ध लागेकोले उनकै इशारामा आफूविरुद्ध मुद्दा दायर गरिएको उनको आरोप छ ।
‘नबिराउनू, नडराउनू । अरु कुरा कानुनी कुरा छन्,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘कानुनविद्हरूसँग पनि परामर्श भएको छ ।’
पतञ्जली जग्गा हिनामिनाको शिलशिला
२०६४ पुस २० : पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी दर्ता
२०६६ माघ १८ : माधवकुमार नेपाल सरकारको मन्त्रिपरिषद्द्वारा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति
२०६६ फागुन १७ : पतञ्जलीका नेपाल प्रमुख शालीग्राम सिंहद्वारा हदबन्दी छुटको जग्गा बेच्न स्वीकृति माग्दै भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निवेदन
२०६६ चैत ३ : मन्त्री श्रेष्ठद्वारा पतञ्जलीले हदबन्दी छुटको जग्गा बेच्न पाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस
२०६६ चैत ६ : पतञ्जलीले हदबन्दी छुटको जग्गा बेच्ने पाउने मन्त्रिपरिषद्को निर्णय
२०६६ चैत १७ : निर्णय गैरकानुनी भन्दै भूमिसुधार विभागका महानिर्देशक केशरबहादुर बानियाँद्वारा कार्यान्वयन गर्न नसकिने मन्त्रालयलाई जवाफ
२०६६ चैत १८ : तत्कालीन प्रधानमन्त्री नेपालद्वारा पतञ्जलीले धुलिखेलमा ८८ रोपनी जग्गा किनेर त्यसमा बनाउन लागेको संरचनाको शिलान्यास
२०६६ चैत २६ : हदबन्दी छुट जग्गा बिक्री गर्ने स्वीकृतिलाई चुनौती दिएको भन्दै मन्त्रिपरिषद्द्वारा महानिर्देशक बानियाँलाई स्पष्टीकरण
२०६६ चैत २७ : बानियाँलाई हटाएर मन्त्रालयका सहसचिव जितबहादुर थापालाई विभागका महानिर्देशकको जिम्मेवारी
२०६६ चैत २७ : जिम्मेवारी सम्हालेकै दिन थापाद्वारा हदबन्दी छुट जग्गा बिक्रीका लागि स्वीकृति दिन मालपोत कार्यालय काभ्रेलाई पत्र
२०६७ असार ११ : पतञ्जलीद्वारा काष्ठमण्डप बिजिनेस होम्स प्रालिलाई ३५३ रोपनी १५ आना जग्गा बिक्री
२०८१ चैत : तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललगायतसँग अख्तियारको बयान
२०८२ जेठ २२ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया