पत्रकार हत्या र प्रेस स्वतन्त्रता हननप्रति प्रेस सेन्टर नेपाल ललितपुरले सरकारलाई बुझायो १० बुँदे ज्ञापन पत्र

ललितपुर । पत्रकार सुरेश रजकको निर्मम हत्या, प्रेस स्वतन्त्रतामाथि बढ्दो हमला र सञ्चारकर्मीको असुरक्षाविरुद्ध प्रेस सेन्टर नेपाल ललितपुरले प्रमुख जिल्ला अधिकारी मार्फत १० बुँदे ज्ञापनपत्र बुझाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठनपछि पहिलोपटक औपचारिक रुपमा प्रस्तुत गरिएको उक्त ज्ञापनपत्रमा पत्रकार सुरेश रजकको हत्या लगायत पछिल्लो समय भइरहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाको कडा निन्दा गरिएको छ। साथै, प्रेस सेन्टर ललितपुरले पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न र परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ।
ज्ञापनपत्रमा संविधान को भाबन अनुसार प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनका लागि प्रेसमैत्री कानुन निर्माण गर्न, सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल गरी नीतिगत सुधार गर्न तथा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ।
प्रेस सेन्टर नेपालले काठमाडौं घोषणा पत्रमार्फत उठाएका मुद्दा तथा चिन्ताहरुलाई सम्बोधन गर्न माग गर्दै, सरकारलाई पत्रकारको सुरक्षादेखि सम्मानजनक पारिश्रमिक, बीमा, विज्ञापन प्रणाली, अनुदान, र समानुपातिक सहभागिताका विषयमा स्पष्ट र ठोस नीति ल्याउन आग्रह गरिएको छ।
प्रेस सेन्टर नेपाल ललितपुरका अध्यक्ष दिपक अर्यालले ज्ञापनपत्र मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायत संविधानका मूल मूल्यहरुमाथि सञ्चारमाध्यममार्फत भइरहेका प्रहारहरूलाई तत्काल रोक्न पनि सरकारसँग माग गरिएको छ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया