शिवराज केसीको हत्या गरेको अभियोगमा चार जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका–६, अघराका शिवराज केसीको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै केसीको हत्या अभियोगमा बंगलाचुली गाउंपालिका–१ का शेर बहादुर मगर, दिपा मगर, तिलक पुन मगर र मेघराज मगरलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा प्रयोग भएको भरुवाबन्दुक , ठुलो गोली ३९ थान, छर्रा १०८ थान र केहि बारुद बरामद गरिएको जनाएको छ ।
उनीहरुले केसीको हत्या गरी शव स्थानीय कोइलाखानीको सुरुङभित्र राखेको अवस्थामा फेला पारेको र त्यसपछि अनुसन्धान गर्दा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । उनीहरुले पुस ८ गते भरुवा बन्दुकले गोली हानेर केसीको हत्या गरेका थिए ।
लेनदेनको बिषयमा विवाद हुँदा उनीहरुले केसीलाई भरुवा बन्दुकले हानेर हत्या गरेको खुलेको समेत प्रहरीले जनाएको छ । हत्या गरिएका केसीको दिपासंग सम्वन्ध रहेको र त्यसको फाइदा उठाउन लाग्दा घटना भएको प्रहरीको भनाइ छ । पक्राउ परेका शेरबहादुर मगर र दिपाले घोराहीबाट बंगलाचुली लगेर जग्गा माग गरेको र नदिएपछि भरुवा बन्दुकले हानी हत्या गरेको दाङका प्रहरी प्रमूख एसपी रामबहादुर केसीले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया