Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले जनताले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

आव २०७९÷८० को प्रथम चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा देशको समग्र अर्थतन्त्र विकास निर्माणसँग सम्बन्धित सूचकहरू सकारात्मक देखिए पनि सन्तोष गर्ने ठाउँ नभएको उल्लेख गर्दै उनले एकअर्काका कमी–कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, “मेरो नेतृत्वमा गठन भएको सरकारको एकवर्षे कार्यकाल पूरा हुने चरणमा छ, यस अवधिमा अपेक्षा गरिएअनुसारका काम हुनसकेका छैनन्, अब चौमासिक नभई वार्षिक कार्यक्रम, कार्ययोजना र उपलब्धिलाई वस्तुनिष्ठ समीक्षा गर्दै यसबीचमा भएका कमजोरी र सबल पक्षलाई चिरफार गरी जनताले अनुभूत गर्नेगरी काम गर्न सबैसँग अपिल गर्दछु ।

गत साउनमा प्रतिबद्धता गरेअनुसारको परिणाम दिन केही मन्त्रालय असमर्थ भएकामा त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले निश्चित कार्यअवधिभित्र तोकिएको लक्ष्य पूरा नगर्नेलाई जिम्मेवारीबाट हटाउनुबाहेक आफूसँग अर्को विकल्प नरहेको चेतावनी दिए । उनले अर्को समीक्षा बैठकमा कार्ययोजनासहित प्रस्तुत हुन सबैलाई निर्देशन दिएका छन् ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौजुदा सार्वजनिक खरिद ऐन, पर्याप्त बजेट र जनशक्तिसहित आवश्यक समन्वय र सहकार्यको अभावलगायत विविध समस्याका कारण नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले चौमासिक प्रगति विवरण पेस गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode