सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, किशोरीको उमेरमाथि शंका

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेको सन्दीपका अधिवक्ता सुधार रिजालले जानकारी दिए ।
बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस गरेका हुन् ।
बुधबारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेका छन् । प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिलका तर्फबाट प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया