डाक्टर मौमिता देबनाथमाथि पापको पराकाष्टा, नेपाल र भारतमा आन्दोलन चर्किदै

काठमाडौँ । भारतको पश्चिम बंगालको कोलकातामा एक प्रशिक्षार्ठ्ठी महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो ।
कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो । ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो ।
अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्युटी सकेर आराम गर्न गएकी थिइन् । घटनाको विरोधमा भारतको कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराज लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन गरिएका छन् । तीमध्ये अधिकांश प्रदर्शनको नेतृत्व चिकित्सकहरूले गरेका छन् । ९ अगष्टको राति भएको यो घटनापछि अशान्त बनेका भारतमा आन्दोलन रोकिने कुनै संकेत देखिएको छैन् ।
दैनिक सरदर ९० वटा बलात्कारको घटना हुने भारतमा पछिल्लो पटक भएको एउटा घटनाले विश्वभरका मानिसहरु स्तब्ध बनेका छन् । कोलकाताका डाक्टर मौमिता देबनाथको बलात्कारपछि भएको क्रुर हत्याले यो समाजमा अपराधको क्रुरताको हदले कुन उचाई मापन गरेको छ भन्ने सहजै अनुमान लाउन सकिन्छ । विश्व समुदाय स्तब्ध बनेको यो घटनाले फेरि एकपटक भारतीय समाजमा छोरीहरु सुुरक्षित छैनन भन्ने सन्देश विश्वले पाएको छ । सन् २०१२ मा राजधानी नयाँ दिल्लीमा भएको नृशंस सामूहिक बलात्कारको घटनापछि भारतमा बलात्कारविरुद्धको कानुन कडा बनाइयो । विश्व समुदायले नै भारतमाथि प्रश्न उठाएको सो घटनापछि भारतीय सरकार कडा कानून बनाउन बाध्य भयो । तर कानून बनेपछि पनि भारतमा बलात्कारका घटनाहरु न्युनिकरण हुन सकेको छैन ।
क्याटेगोरी : विदेश
प्रतिक्रिया