पोर्चुगलमा नेपाली दूतावास अक्सिजन र पानीजत्तिकै आवश्यक : अभियन्ता नेम्कुल
पोर्चुगलमा रहेको नेपाली दूतावासले स्थापना भएको एक वर्षमै उल्लेखनीय सेवा प्रवाह गर्दै प्रभावकारी कूटनीतिक उपस्थिति देखाएको छ। अभियन्ता गंगाबहादुर नेम्कुलले दूतावासलाई विदेशमा रहेका नेपालीका लागि “अक्सिजन र पानी जत्तिकै आवश्यक” भन्दै यसको सुदृढीकरण वा हटाउने कुनै पनि निर्णय नेपाल सरकारका लागि ऐतिहासिक भूल हुन सक्ने चेतावनी दिएका छन्।
लिस्बनस्थित दूतावासले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार एक वर्षको अवधिमा ३५ हजार ७ सय ८९ भन्दा बढी सेवाहरू प्रवाह गरिएको छ भने करिब ५० करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। दूतावासका अनुसार यो अवधिमा सबैभन्दा बढी प्रहरी चारित्रिक प्रमाणपत्र, ई–पासपोर्ट, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा, यात्रा अनुमतिपत्र तथा शव फिर्ती समन्वयजस्ता सेवा प्रदान गरिएको हो।
राजदूत प्रकाशमणि पौडेलका अनुसार पोर्चुगलमा रहेका ६० हजारभन्दा बढी नेपालीहरूलाई दूतावासले प्रत्यक्ष रूपमा सेवा पुर्याइरहेको छ। सन् २०२३ अप्रिल १६ देखि पूर्ण रूपमा सेवा सुरु गरेको दूतावासले कन्सुलर सेवासँगै आर्थिक कूटनीति र द्विपक्षीय सहकार्य विस्तारमा पनि सक्रिय भूमिका खेल्दै आएको छ।
अभियन्ता नेम्कुलले छोटो समयमै देखिएको यो उपलब्धिले दूतावासको आवश्यकता र प्रभावकारिता पुष्टि गरेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। दूतावासले सेवा प्रवाह, राजस्व संकलन र सामुदायिक समन्वयमा उल्लेखनीय सफलता हासिल गर्दै आफूलाई प्रभावकारी कूटनीतिक नियोगका रूपमा स्थापित गरेको देखिन्छ।
क्याटेगोरी : विदेश










प्रतिक्रिया