शिक्षा विधेयकको विरोधमा शिक्षक सडकमा, काठमाण्डौ अस्तव्यस्त (तस्विरमा हेर्नुहोस्)
काठमाण्डौ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले आजबाट राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको छ । महासंघले राजधानीमा गरेको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ । राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले नाराबाजीसहित धर्ना र जुलुस गरिरहेका छन ।
उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् ।
शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी÷करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको १७ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको छ ।
आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् । राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारीसाधन आवागमन प्रभावित बनेको छ ।
माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो ।
ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरेको छ । नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
क्याटेगोरी : शिक्षा/स्वास्थ्य
प्रतिक्रिया