Techie IT
  • १ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

मूल्यवृद्धि घटेको राष्ट्रबैँकको दाबी, रेमिट्यान्स अहिलेसम्मकै उच्च (समग्र आर्थिक अवस्था)


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोज मसान्त) सम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सिमित भएको देखिएको छ । अर्थात असोजमा विगतको तुलनामा मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खासगरी खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि २.५४ प्रतिशतले ऋणात्मक देखिएको छ । खाद्य वस्तुको मूल्य घटेसँगै नागरिकलाई राहत मिलेको छ । गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ३.८० प्रतिशतले भएको देखिन्छ । गैर मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.२९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशतले बढेको छ । फर्निसिङ तथा घरासयी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ ।

मूल्यवृद्धिमा कमी आउँदा रेमिट्यान्समा भने वृद्धि भएको छ । असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो । वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५.४ प्रतिशत धेरै हो ।

चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २ सय ५७ रहेको छ । गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३९ रहेको थियो ।

यस्तै कुल विदेशी विनिमय सञ्चिति रु.२९७९ अर्ब ८१ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको बैंकको भनाइ छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै चालु खाता रु.२३७ अर्ब ५९ करोड र शोधनान्तर रु.२६४ अर्ब ३ करोड बचतमा रहेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिना (साउन–असोज)सम्म विदेश घुमफिरमा जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन् । भ्रमण व्यय पहिलो त्रैमासको समीक्षा अवधिमा १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रहेको छ । यसअनुसार खुद भ्रमणमा भएको खर्च २१ अर्ब ६३ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यही अवधिमा विदेशीले नेपाल भ्रमणमा गरेको खर्च भने १९ अर्ब १९ करोड मात्र छ । यस अनुसार विदेशी पर्यटकले नेपाल भ्रमणका क्रममा गर्ने खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने भ्रमण खर्च धेरै हो ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode