आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्समा कीर्तिमान, यस्तो रह्यो समग्र आर्थिक अवस्था

काठमाडौं । गत आर्थिक वर्ष २०८१÷८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भित्रिएको छ । कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको तुलनामा १९.२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९ सय ५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ हजार ३३ हजार ३ सय ९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार एक सय २ र २ लाख ८१ हजार १ सय ९५ रहेको थियो ।
तथ्याङ्कका अनुसार सो आर्थिक वर्षमा महङ्गी दर ४.०६ प्रतिशत कायम भएको । अघिल्लो आर्थिक वर्षमा यो दर ५.४४ प्रतिशत रहेको थियो । तरकारी, घ्यु तथा तेल, गेडागुडी र खाद्यान्नमा उच्च मूल्यवृद्धि रहेको छ । मसला र माछा मासुको मूल्य भने घटेको देखिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा देशको चालु खाता रु.४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.२ खर्ब २१ अर्ब ७१ करोडले बचतमा रहेको थियो । यसआधारमा चालु खाता बचतमा सुधार देखिएको छ । यस्तै समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर रु.९ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर रु.५ अर्ब ८१ करोड रहेको थियो । यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१२ अर्ब २ करोड भित्रिएको छ । समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.५ सय २ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।
२०८१÷८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२७७ अर्ब ३ करोड पुगेको छ । यस्तै कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई रु.१८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ । कुल वस्तु व्यापार घाटा ६.० प्रतिशतले वृद्धि भई रु.१५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटामा १.० प्रतिशतले कमी आएको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १५.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६, विकास बैंकहरूको ६.१ र वित्त कम्पनीहरूको ८.४ प्रतिशत बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.५, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ३.४ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशत बढेको छ । कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : अर्थ/सहकारी
प्रतिक्रिया