Techie IT
  • ५ असार २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

रेमिट्यान्स बढ्यो, महङ्गी घट्यो, १० महिनाको अर्थतन्त्रको नालीबेली


काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धिदर ४.४० प्रतिशत थियो । राष्ट्रबैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको तुलनामा चालु आर्थिक महँगी दर घटेको देखिएको हो ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो । तर गैरखाद्य सेवा समुहतर्फ भने महंगी दर बढेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्यदर ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेन्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको छ ।

त्यसैगरी ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ । यसले ग्रामिण क्षेत्रमा महँगी दर धेरै देखाउँछ ।

दश महिनाको अवधिमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकको विवरणअनुसार रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो । यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा १६ दशमलव ९ प्रतिशतले बढेको थियो । वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको थियो ।

कुल विदेशी विनिमय संञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ । यो रकम १४ दशमलव ६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ । गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा हेर्दा यो सञ्चिति २०८१ असारको १५ अर्ब २७ करोडबाट २०.५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ ।

विस्तृत मुद्राप्रदाय ६ दशमलव ६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११ दशमलव ४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ दशमलव २ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ दशमलव ४ प्रतिशत रहेको छ ।

वैशाखसम्म नेपाल सरकारको खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड र राजश्व परिचालन ९ खर्ब २२ अर्ब ४३ करोड रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यो अवधिसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो । राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको १० महीनाको अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ५ करोड रहेको थियो ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode