Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

मूल्यवृद्धि घटेको राष्ट्रबैँकको दाबी, एक महिनामा १ खर्ब २६ अर्ब रेमिट्यान्स


काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । राष्ट्रबैँकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत कायम रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेयपदार्थ समूहको मूल्य वृद्धिदर ५.०३ र गैरखाद्य तथा सेवा समूहको ३.१९ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८०, तरकारीको ९.८४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । तर, मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविधवस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१, मदिराजन्य पेय पदार्थको ६.७६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह २ खर्ब ६३ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको छ ।

भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति पछिल्लो पाँच वर्षयताकै उच्च कायम छ । भदौ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब चार करोड कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा पाँच प्रतिशतले वृद्धि भएको हो । गएको असार मसान्तसम्म १५ अर्ब २७ करोड अमेरिकी डलर कायम थियो ।

चालु आर्थिक वर्ष २०८१÷०८२ को दुई महिनाको वस्तु आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग १६.८ महिनाको वस्तु आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने पनि बताइएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode