भृकुटीमण्डपमा सवारी सधानको मेला, यस्तो छ नाडा अटो शो

काठमाण्डौ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको शोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन् । उपप्रधानमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था सुदृढ पार्न निजी क्षेत्रको भूमिका अहम हुने बताए । उनले सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि जानकारी गराए ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन चल्नेछ । टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरि १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहने छन् भने अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहनेछ । यस वर्षको नाडा अटो शो ७५ हजारभन्दा धेरैले अवलोकन गर्ने अनुमान गरिएको छ ।
यसपटकको नाडा अटो शोमा विद्यूतीय सवारी साधनको बर्चस्व रहेको छ । न्युनतम १९ लाख रुपैयाँदेखि अधिकतम १ करोड ६५ लाख रुपैयाँसम्मका सवारी साधन प्रदर्शनीमा राखिएको छ । अटोमोबाइल व्यवसायीहरुले आफ्नो वार्षिक कारोबारको करिब ४० प्रतिशत व्यापार यही शोमार्फत गर्ने लक्ष्य राखेका छन् ।
क्याटेगोरी : अर्थ/सहकारी
प्रतिक्रिया