आर्थिक तथा वित्तीय स्थिती : रेमिट्यान्समा मासिक रेकर्ड, महँगी घटेको दाबी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । उक्त तथ्यांक हेर्दा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई २७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८० करोड ३ लाख कायम भएको थियोभने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४० करोड ऋणात्मक रहेको थियो । त्यस्तै, यस अवधिमा शोधनान्तर स्थिति रु.३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ । त्यस्तै, नेपालले विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा मासिक रेकर्ड कायम गरेको छ । साउन महिनामा हालसम्मकै धेरै अर्थात् १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
त्यस्तै, आम नागरिकले दैनिक उपभोग्य बस्तुको बजार मूल्य थेग्नै नसकिने गरी बढिरहेको टिप्पणी गरिरहेका बेला नेपाल राष्ट्र बैंकले भने महँगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार २०८० साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ । साउनमा ७.५२ प्रतिशत रहेको बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : अर्थ/सहकारी
प्रतिक्रिया