खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ ।
डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ ।
अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५÷१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।
निगमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको जानकारी दिएको हो । स्वचालित प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्ने निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी एि ।
त्यस्तै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले भारतीय आयल कर्पोरेशनको सम्पूर्ण ऋण भुक्तानी गरिसकेको र सरकारको केहि ऋण तिर्न बाँकी रहेको जानकारी दिए ।
क्याटेगोरी : अर्थ/सहकारी
प्रतिक्रिया