Techie IT
  • १४ फागुन २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

‘रौतहट चार धमलाका बार’ : परिवर्तन, रोजगारी र समृद्धिको संकल्प


रौतहट । प्रतिनिधिसभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका ऋषि धमला ले ‘हर घर मिले रोजगार’ मुख्य नारासहित आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। आम जनता पार्टी का तर्फबाट उम्मेदवार बनेका धमलाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, खानेपानी, वातावरण संरक्षण र खेलकुदलाई केन्द्रमा राख्दै समग्र विकासको प्रतिबद्धता जनाएका हुन्।

रौतहट किन पछि पर्‍यो?

रौतहटको ऐतिहासिक र राजनीतिक योगदान स्मरण गर्दै धमलाले विकासका दृष्टिले जिल्ला पछि परेको बताएका छन्। चन्द्रशमशेर राणा ले बसाएको चन्द्रनिगाहपुर बजार र निर्माण गरेको चन्द्रनहरको इतिहास स्मरण गर्दै उनले भने—इतिहास गौरवपूर्ण भए पनि वर्तमान अवस्था चुनौतीपूर्ण छ। लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको जिल्ला आज गरिबी, बेरोजगारी, अशिक्षा र आधारभूत सेवाको अभावसँग जुधिरहेको उनको भनाइ छ।

शिक्षामा पहिलो प्राथमिकता

धमलाले शिक्षालाई आफ्नो पहिलो प्राथमिकता बनाएका छन्। गरिबीका कारण विद्यालय छाड्ने बाध्यता अन्त्य गर्ने, विषयगत शिक्षकको अभाव हटाउने, सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने र उच्च शिक्षाका लागि छात्रवृत्ति व्यवस्था गर्ने उनको योजना छ। मदरसा शिक्षालाई व्यवस्थित गर्दै मुस्लिम विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

‘हर घर मिले रोजगार’ अभियान

रोजगारी सिर्जना आफ्नो मुख्य अभियान भएको उल्लेख गर्दै धमलाले प्रत्येक पालिकामा आयमूलक कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। व्यावसायिक कृषि, महिला स्वरोजगार, साना तथा मझौला उद्योग स्थापना, स्टार्टअप व्यवसायका लागि सहुलियत ऋण तथा अनुदानको पहल गर्ने उनको योजना छ। रौतहटको उखुले उचित मूल्य पाउने वातावरण मिलाउने तथा उद्योगी व्यवसायीलाई जिल्लामा लगानीका लागि आकर्षित गर्ने उनले बताएका छन्।

स्वास्थ्य र खानेपानीमा सुधार

रौतहट–४ मा स्तरीय अस्पताल स्थापना गर्ने, स्वास्थ्य चौकीहरूलाई दक्ष जनशक्तिसहित सुदृढ बनाउने तथा रेफर सेन्टरको अवस्थाबाट माथि उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। ‘एक घर एक धारा’ कार्यक्रममार्फत स्वच्छ खानेपानी उपलब्ध गराउने तथा आर्सेनिक पानीको समस्या समाधान गर्ने उनको घोषणा छ।

कृषिमा सिंचाई र सहुलियत

निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन आयोजना छिटो सम्पन्न गराउन संघीय तहसम्म पहल गर्ने उनले बताएका छन्। बागमती नदी र चाँदी खोलाको सिंचाई व्यवस्थापन सुदृढ गर्दै किसानलाई वर्षैभरि पानी उपलब्ध गराउने, कृषिका लागि सहुलियत ऋण व्यवस्था गर्ने उनको एजेण्डा छ।

चुरे संरक्षण र पर्यटन विकास

मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन चुरे क्षेत्र संरक्षणमा विशेष ध्यान दिने तथा रौतहटका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उनले बताएका छन्।

खेलकुदमार्फत युवा सशक्तीकरण

रौतहटको महिला फुटबल पहिचानलाई अझ सुदृढ बनाउने, पुरुष फुटबल र क्रिकेटको विकासमा पहल गर्ने तथा खेलकुदमार्फत अनुशासित र सक्षम युवा उत्पादन गर्ने उनको प्रतिबद्धता छ।

अनुभवलाई विकासमा रूपान्तरण गर्ने दाबी

३५ वर्ष लामो पत्रकारिता अनुभव उल्लेख गर्दै धमलाले देश–विदेशका उद्योगी, व्यवसायी र विज्ञहरूसँगको सम्बन्धलाई रौतहट–४ को विकासमा प्रयोग गर्ने बताएका छन्। जनताको घरदैलोमै रहने प्रतिबद्धतासहित उनले मतदातासमक्ष परिवर्तन र समृद्धिको वाचा गरेका छन्।

‘रौतहट चार धमलाका बार’ नारासहित अघि बढेको यो अभियानले शिक्षा, रोजगारी, स्वास्थ्य र कृषिमा सुधार ल्याई रौतहट–४ लाई विकासको नयाँ दिशातर्फ लैजाने लक्ष्य लिएको छ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode