Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

जिल्ला सुरक्षा समितिलाई गृहमन्त्रीको निर्देशन : ९० दिनमा हरेक सूचक माथि जानुपर्छ


काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरीका जिल्ला इन्चार्जहरूलाई भर्चुअल संशोधन गरेका छन् । गृह मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री लामिछानेले ‘९० दिनमा कायापलट’ गर्न निर्देशन दिएका हुन् ।

कम्तीमा ३ महिनामा कायापलट हुनुपर्ने उल्लेख गर्दै लामिछानेले भने,‘तस्कर र गुण्डा तपाइले चिन्नुभएकै छ, मैले चिनाउनु पर्दैन ।’ राजस्व छल्ने र तस्करी गर्नेलाई नियन्त्रण गरी कानुन अनुसार कारबाही गर्न आफूलाई सोध्नु नपर्ने लामिछानेले बताए । विमानस्थलमा खादा र माला लिएर नआउन निर्देशन दिँदै लामिछानेले भनेका छन्,‘राम्रो काम गर्नेलाई खोज्न म आफैँ आउँछु ट्याक्सी लिएर ।’

सरुवा र बढुवामा सोर्स–फोर्स नलगाउन उनले प्रहरी र गृह प्रशासनका निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँबर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका थिए ।

निर्देशनको मुख्य बुँदा :

–गृह मन्त्रालयले राम्ररी काम गर्न सक्यो भने नागरिकले सरकार छ भन्ने अनुभूत गर्छन् । तर, यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ । हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं । समाज बस्न लायक हुँदैन । सहज रुपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निरास हुन्छ । अहिलेको अवस्था त्यही हो। यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो ।
सरकारले अधिकार दिएका हामीले प्रभावकारी काम गर्न नसक्दा नै समाजमा निरासा बढ्यो। बेथितिमा रमाउने बानी प¥यो। समाज कस्तो हुनुपर्छ भन्ने हामीले बिर्सिसक्यौं। मलाई भन्दा तपाईंलाई थाहा छ कहाँ बिग्रिएको र कहाँ सुधार्नु पर्छ भन्ने । तर, खै त बिग्रिएको सुधारेको ?
– अब एकपटक समस्या समाधानको प्रण गरौं । प्रत्येक दिन नागरिकसँग ठोक्किने तपाईं नै हो सरकार, सुधार तपाईंहरुबाटै सुरु गर्नुपर्ने हो । जिम्मेवार भएर काम गर्ने शैली थोरै परिवर्तन गर्दा परिणाम आउँछ। एक÷दुई जनाले राज्यलाई चुनौती दिइरहेका छन् । तर, हामी मौनजस्तै छौं। यो क्रम कहिलेसम्म ?
– निर्देशनमा होइन टीमको सदस्यका रुपमा रुपमा योजनावद्ध र प्रभावकारी काम गरौं। समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो त ? मेरोतर्फबाट कानून पालना गर्ने पूर्णअधिकार तपाईंहरुसँग छ । त्यसको पूर्ण कार्यान्वयन गर्नुस् । कानूनभन्दा माथि निर्देशन हुन सक्दैन। आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पनुस् ।
– चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन। जति रहन्छु राम्रो गर्छु । नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।
– सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो । सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन । अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस् । होइन उनीहरुले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस् ।

– समस्या लिएर आउनेको तत्काल काम गरिदिनुस् । काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस् । नागरिक समस्या लिएर सिंहदरवार आउनु नपरोस् । समाधान नभएका समस्या चाहिँ तपाईंहरु मार्फत सिंहदरवार आओस् ।
– साहु महाजनले गरीबलाई नतर्साओस्। पीडितको पक्षमा उभिनुस् । पीडितलाई थप पीडा दिने काम नगर्नुस् । किसानका समस्यालाई प्राथमिकता दिनुहोस्। अवैध आयात नियन्त्रण गर्नुहोस् । नेपाली उत्पादनले बजार नपाउने, अवैध आयात भइरहने क्रम रोकिनै पर्छ ।
– तपाईंहरुको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस्। तर, तपाईंको स्वार्थमा उनीहरु (राजनीतिक नेतृत्व)बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन । अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहिँ कारबाही गर्छु । दण्डहिनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस् ।
– अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode