Techie IT
  • १५ चैत्र २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

ज्वालामुखी गाउँपालिकाको आयोजनामा एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न


धादिङ । ज्वालामुखी गाउँपालिकाको आयोजनामा शनिबार एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। चैत्र १४ गते वडा नं. ५ स्थित खरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको गाउँपालिका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो।

उक्त शिविर ज्वालामुखी गाउँपालिकाको आयोजना तथा रोट्री क्लब अफ मिड टाउन चितवन, चितवन मेडिकल कलेज र रोट्री क्लब अफ धादिङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।

शिविरमा जेनरल सर्जरी, जेनरल फिजिसियन, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक–कान–घाँटी, छाला तथा मानसिक रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। करिब ५०० स्थानीय नागरिकले स्वास्थ्य परीक्षणबाट लाभ लिएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो। गाउँपालिकाका अनुसार करिब १० लाख रुपैयाँ बराबरका औषधि वितरण गरिएको छ।

दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ। साथै, यस्ता कार्यक्रमहरूले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको प्रारम्भिक चरणमै पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

गम्भीर रोगबाट प्रभावित बिरामीहरूको थप उपचार गाउँपालिकाले आफ्नै खर्चमा निःशुल्क गर्ने व्यवस्था गरिएको अध्यक्ष दनैले जानकारी दिनुभयो। साथै, थप उपचार आवश्यक परे चितवन मेडिकल कलेजले २० प्रतिशत छुट प्रदान गर्ने सहमति भएको पनि उहाँले बताउनुभयो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू, स्वास्थ्यकर्मीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।


क्याटेगोरी : शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode