एनआरएनए पोर्चुगलको महाधिवेशनको तयारी तीब्र, कस्तो नेतृत्व चाहन्छन् मतदाता ?

लिस्वन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्चुगलको आगामी जुन ८ तारिखमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गरेको छ । संघको गत मे २५ मा बसेको बैठकले उक्त समितिहरु बनाएको हो । महाधिवेशनलाई सफल बनाउन गम्भीरजंग गुरुङको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ भने चक्र गुरुङको संयोजकत्वमा विधान संसोधन तथा मस्यौदा समिति निर्माण गरेको छ । त्यसैगरी दीनेश खड्का व्यवस्थापन समिति, सरिता शर्मा अतिथि सत्कार, राजकुमार गुरुङ आर्थिक समिति र जयबहादुर केसी प्रचार समितिको संयोजक रहेका छन् ।
यसअघि सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले मे ३ र ४ मा संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशन काठमाडौं सम्पन्न गरिसकेको छ । यसैको मूल मर्म सहमति, सहकार्य र एकतालाई अनुसरण गर्दै पोर्चुगलको राष्ट्रिय महाधिवेशन पनि सम्पन्न हुने संघका कार्यवाहक महासचिव दीपेश बिष्टले जानकारी दिए । महाधिवेशनले नै नयाँ नेतृत्व चयन गर्नेछ ।
पोर्तुगलको एनआरएनए अन्तरगत कुनै पनि पदमा उम्मेदवारी दिन चाहँदा नेतृत्व क्षमतालाई पहिलो प्राथमिकता दिने गरिएको छ । त्यसैगरी नेपाली समुदायसँग काम गरेको अनुभव तथा सामाजिक सेवामा सक्रिय भएको व्यक्ति रोजाइमा पर्ने गर्दछन् । इमानदार र विश्वासिलो छवि भएको उम्मेदवार जसले समस्या समाधान गर्ने क्षमता राख्दछ त्यस्ता व्यक्ति छनोटमा पर्दछन् ।
पछिल्ला वर्षमा एनआरएनए दुई समुहमा विभाजित छ । एकले अर्कोलाई स्विकार गर्न नसक्ने अवस्थामा अबको नेतृत्वले दुई समुहलाई एउटै बनाउन सक्नेमा मतदाताको अपेक्षा छ । मे पहिलो साता सम्पन्न महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यही समितिलाई परराष्ट्र मन्त्रालयले मान्यता दिएको छ । अर्को समुहले महेशको समुहलाई आधिकारिक मानेको छैन ।
क्याटेगोरी : देश, विदेश
प्रतिक्रिया