पैसाले होइन, मनले गोरखाको सेवा भावमा तल्लिन प्रेम खत्री
गोरखा- गोरखाको पहाडी भूगोलमा एउटा यस्ता नाम छ, जसलाई धेरैले पदभन्दा पहिला सेवाबाट चिन्छन्-प्रेमकुमार खत्री। पैसा कमाउन सक्ने क्षमता सबैसँग नहुन सक्छ, तर पैसा भएर पनि सेवा गर्ने मन सबैमा हुँदैन भन्ने भनाइलाई उनले आफ्नै जीवनबाट उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। व्यवसायबाट आर्जित साधनलाई समाजमै फर्काउने अभ्यासमार्फत उनले आफूलाई गोरखाको सामाजिक अभियन्ताका रूपमा स्थापित गरेका छन्।
आरुघाट–८, आरुपोखरीमा जन्मेर हुर्किएका ४१ वर्षिय खत्रीले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। युवावस्थामै पर्यटन व्यवसायमा प्रवेश गरेका उनले क्रमशः ऊर्जा र कृषि क्षेत्रमा पनि लगानी विस्तार गरे। व्यवसायिक सफलतासँगै सामाजिक दायित्व वहन गर्नुपर्छ भन्ने सोचले उनलाई गाउँ–गाउँ जोड्यो। २२ वर्षको उमेरदेखि नै उनले सामाजिक कामलाई निरन्तरता दिएका हुन्।
२०७२ सालको विनाशकारी गोरखा भूकम्पले जिल्लालाई तहसनहस बनाएको बेला खत्री राहत, उद्धार र पुनर्निर्माणमा अग्रपंक्तिमा देखिए। घरबारविहीन भएका विपन्न परिवारका लागि ७९ वटा घर निर्माण गरी हस्तान्तरण गर्नु उनका लागि केवल परोपकार होइन, सामाजिक उत्तरदायित्व थियो। भूकम्पपछिको कठिन समयमा खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सामग्री र पुनःस्थापनाका प्रयासमार्फत उनले गाउँ–गाउँमा पुगेर सहयोग गरे।
कोभिड महामारीका बेला पनि उनी सक्रिय रहे। जोखिमका बीच एम्बुलेन्स, अक्सिजन सिलिन्डर र औषधिसहित दुर्गम बस्तीमा पुगेर सेवा पुर्याए। गोरखाका ११ वटै स्थानीय तहमा १३ वटा एम्बुलेन्स उपलब्ध गराउँदै स्वास्थ्य पहुँच विस्तारमा योगदान दिएका छन्। ७ वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना तथा आवश्यक उपकरण सहयोग गरेर गाउँमै उपचारको आधार तयार पारिएको छ। नियमित स्वास्थ्य शिविरमार्फत निःशुल्क जाँच र औषधि वितरणले हजारौँ नागरिक लाभान्वित भएका छन्।
शिक्षा क्षेत्रमा उनको योगदान उल्लेखनीय मानिन्छ। ३० हजारभन्दा बढी विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्म सहयोग उपलब्ध गराउँदै आएका छन्। विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, भवन निर्माण र छात्रावास निर्माणमार्फत ग्रामीण शिक्षाको पूर्वाधार सुदृढ बनाउने प्रयास गरिएको छ। उनका लागि शिक्षा दान होइन, भविष्यमा लगानी हो।
महिला र युवाको सशक्तिकरणमा पनि खत्री सक्रिय छन्। १५० भन्दा बढी महिला समूहलाई आयआर्जनका सामग्री सहयोग गरेर आत्मनिर्भरतातर्फ प्रेरित गरिएको छ। गाउँ–गाउँका १०५ युवा क्लबलाई खेलकुद सामग्री र आर्थिक सहयोगमार्फत सकारात्मक गतिविधिमा जोड्ने काम गरिएको छ। पञ्चेबाजा र खैजडी भजन जस्ता मौलिक सांस्कृतिक धरोहरको संरक्षणसँगै युवालाई रोजगारीसँग जोड्ने पहल पनि अघि बढाइएको छ। कफी खेतीजस्ता कार्यक्रममार्फत ग्रामीण स्वरोजगार सिर्जनामा जोड दिएका छन्।
“सेवामार्फत परिवर्तन सम्भव छ” भन्ने विश्वाससहित उनले ‘सम्भव नेपाल’ अभियान सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा संस्थागत ढंगले कार्यक्रम अघि बढाएका छन्। सामाजिक कामलाई व्यक्तिनिष्ठ नभई संस्थागत संरचनामा लैजानुपर्ने उनको धारणा छ।
राजनीतिक रूपमा उनले विद्यार्थी जीवनदेखि सक्रियता देखाएका थिए। आरुघाटस्थित भिमोदय माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका खत्री अहिले नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। पार्टीभित्र युवा र परिवर्तनको पक्षमा बोल्दै आएका उनलाई यसपटक गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको छ।
उनले ३० भन्दा बढी देशको भ्रमण गरी त्यहाँको विकास अनुभव नजिकबाट अध्ययन गरेको बताउँछन्। पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा लगानीमार्फत सयौँ युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गरिएको दाबी छ। अब ती अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्ने उनको लक्ष्य रहेको छ।
सरल स्वभाव, स्पष्ट विचार र विकासप्रेमी सोचका रूपमा परिचित खत्री राजनीतिलाई शक्ति आर्जनको माध्यम होइन, सेवाको विस्तारित रूप ठान्छन्। करिब डेढ दशकदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहेका उनी अब त्यस अनुभवलाई संसदीय नेतृत्वमार्फत व्यापक बनाउने अभियानमा छन्।
गोरखाली जनताका लागि प्रेम खत्री केवल उम्मेदवार होइनन्, संकटमा साथ दिने, शिक्षा र स्वास्थ्यमा हात बढाउने, रोजगारी र आत्मनिर्भरता जोड्ने एक भरोसाको नामका रूपमा स्थापित भएका छन्। अब त्यो सेवा भावलाई औपचारिक नेतृत्वमा रूपान्तरण गर्ने कि नगर्ने निर्णय भने मतदाताको हातमा छ।
क्याटेगोरी : देश, प्रमुख समाचार













प्रतिक्रिया