Techie IT
  • २९ असार २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

क्षमायाचना गर्दै काठमाडौ महानगरकी उपप्रमुख सुनिताले गरिन बजेट सार्वजनिक


काठमाडौं । आइतबार बसेको काठमाडौ महानगरपालिकाको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी छन् । उनले आगामी आर्थिक बर्ष २०८२÷८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।

नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण, राजश्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको उपप्रमुखले जानकारी दिइन् । आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्वन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । अगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् ।

बजेट सार्वजनिक गर्ने क्रममा डंगोलले महानगरभित्रको विवाद पनि कोट्याइन् । समयसिमा भन्दा ढिला गरी बजेट आएको उल्लेख गर्दै उनले विवाद समाधान गरेर अघि बढेको जानकारी दिइन् । उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै फेरि एकढिक्का भएको बताइन् ।

बजेट नै आउँदैन कि भन्नेसम्मको आशंका चिर्दै काठमाडौं महानगरपालिकाले बजेट सार्वजनिक गरेको हो । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

बजेट ल्याउनुअघि नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम नगरसभासमक्ष प्रस्तुत गरेका हुन् । शाहले आर्थिक वर्ष २०८१÷८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीति र सम्पन्न हुँन बाँकी योजना तथा कार्यक्रमलाई निरन्तरता दिइने, आवधिक, रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइने जनाएका छन् ।
स्थानीय उत्पादन, रोजगारी, उद्यमशीलता र लगानीमैत्री वातावरणलाई प्रवद्र्धन गर्दै समावेशी आर्थिक विकासको आधार सुदृढ, एक वडा, एक उत्पादन नीतिलाई प्राथमिकता दिइएको छ । बालबालिकाको समग्र शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि प्रत्येक सामुदायिक विद्यालयमा गुणस्तरीय प्रारम्भिक बाल विकास केन्द्रको स्थापना गरिने महानगरले जनाएको छ ।


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode