इरानद्वारा कतार र इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार

इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार राति कतार र इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ।
कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। यो हमलाबाट मानवीय क्षति भएको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन।
कतारले आवश्यक परे यसको जबाफ दिने अधिकार आफूसँग भएको जनाएको छ।
इरानको मिसाइल आक्रमणपछि कतारले अस्थायी रूपमा हवाई क्षेत्र बन्द गर्नुका साथै आफ्नो भूमिमा रहेका अमेरिकी तथा बेलायती नागरिकलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको छ।
इरानले कतारस्थित अमेरिकन सैन्य क्याम्पमा आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव चरममा पुगेको छ। कतारपछि संयुक्त अरब इमिरेट्स (UAE) ले पनि आफ्नो आकाश मार्ग (एयरस्पेस) बन्द गरेसँगै त्यहाँ रहेका हजारौं अन्तर्राष्ट्रिय विमान सेवाहरू प्रभावित भएका छन्। यसले न केवल खाडी क्षेत्र, तर विश्वव्यापी रूपमा आर्थिक, राजनीतिक, र सामाजिक प्रभाव पार्न सक्छ – जसको छाया नेपालमा पनि प्रत्यक्ष–परोक्ष रूपमा पर्छ।
नेपालमा यस युद्धको सम्भावित प्रभावहरू यस्ता छन्:
१, रोजगार र रेमिट्यान्समा नकारात्मक असर
कतार, युएई, साउदी अरब, ओमान लगायतका खाडी राष्ट्रहरूमा करिब १५ लाख नेपाली श्रमिक कार्यरत छन्।
युद्धको कारण सुरक्षा जोखिम बढ्ने, एयरस्पेस बन्द हुने र निर्माण वा सेवा क्षेत्रको परियोजना रोकिँदा नेपाली कामदारहरूको रोजगारी गुम्न सक्छ।
ठूलो संख्यामा नेपालीहरूको स्वदेश फिर्ती सम्भावना बढ्न सक्छ, जसले रोजगारी र अर्थतन्त्रमा चुनौती थप्नेछ।
रेमिट्यान्स घट्न सक्ने सम्भावना अत्यन्तै उच्च हुन्छ – जुन नेपालको वैदेशिक मुद्राको प्रमुख स्रोत हो।
२, तेलको मूल्यमा वृद्धिले महँगी बढ्ने
खाडी क्षेत्रबाट आउने कच्चा तेलमा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकस्मिक रूपमा बढ्नेछ।
नेपालले आयात गर्ने डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन आदि महँगो भएर अन्ततः भाडा, उपभोग्य वस्तु, निर्माण सामग्री आदिको मूल्य वृद्धि हुनेछ।
३, नेपालको उडान सेवा प्रभावित हुने
कतार, युएई लगायत देशमा नेपाल जाने/आउने दैनिक सयौं उडानहरू छन्। एयरस्पेस बन्द हुँदा वा डाइभर्ट हुँदा:
उडानहरू रद्द वा ढिला हुने,
यात्रुहरू अलपत्र पर्ने,
हवाई टिकट महँगो हुने,
पर्यटन उद्योगमा पनि प्रभाव पर्ने सम्भावना छ।
४, मानव–सुरक्षा संकट र उद्धार दबाब
यदि युद्ध अझै फैलियो भने नेपाली दूतावासहरूमा उद्धारको माग बढ्नेछ। विशेषतः:
कन्स्ट्रक्सन साइटहरू बन्द हुँदा कामदारहरू बेरोजगार हुने,
डिपोर्टेशन वा क्याम्पमा सीमित हुने अवस्था आउने,
नेपाल सरकारले उद्धार उडानको व्यवस्था गर्नुपर्नेछ।
५, भूराजनीतिक दबाब
नेपालले अमेरिका र इरान दुवैसँग मैत्री सम्बन्ध राखेको छ। युद्धको अवस्थामा तटस्थ नीति लिने नेपाललाई कूटनीतिक हिसाबले सजग रहनुपर्ने हुन्छ।
चीन, भारत, अमेरिका जस्ता शक्ति राष्ट्रहरूको फरक–फरक चासो नेपालमा पनि परोक्ष रूपमा देखा पर्न सक्छ।
कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेलगत्तै अर्को खाडी मुलुक बहराइनमा पनि साइरन बजाइएको छ। बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय छ।
त्यहाँको गृह मन्त्रालयले नागरिकहरुलाई नजिकको सुरक्षित स्थानमा बस्न आह्वान गरेको छ।
उता यूएईले आफ्नो हवाइ क्षेत्र बन्द गरेको छ। जसका कारण कयौँ विमानहरुलाई फर्किन बाध्य पारिएको छ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
प्रतिक्रिया