Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

नख्खु कारागारमा किन हुन्छ सधै लफडा


काठमाडौं । कारागार जानेर वा अन्जानमा अपराध कर्ममा लागेकाहरुलाई सजाय दिने थलो मात्रै नभएर उनीहरुको आचरण सुधार्ने सुधार गृह पनि हुन । तर, सरकारले सुधार गृहको रुपमा रुपान्तरण गर्न खोजिरहेका कारागारहरु अहिले अपराध गर्ने र सिकाउने अर्को थलो बन्न थालेका छन् । चौकिदार, नाईके, सह–नाईके, जेलरदेखि कारागार ब्यवस्थापन बिभागका प्रमुखसम्मले कारागारबाट लाभ लिने गरेको आरोप लाग्दै आएको छ । कारागारभित्रबाट कैद भुक्तानी गरेर बाहिर आएका ब्यक्तीहरुको कुरा सुन्ने हो भने कारागारभित्र मानिसलाई गरिने ब्यवहार नै गरिदैन ।

पीडा सुनाउने ठाउँ नै नपाएका कैदीबन्दीले पटक–पटक हामीलाई गुनासो गर्दै आएका छन् । उनीहरुको पीडा र समस्यालाई हामीले निरन्तर स्थान दिदैं आएका छौं । केही कारागारमा सुधार समेत भएको छ । तर, अझै अधिकांश कारागारभित्र चल्ने बेथिति रोक्न सरकारी उच्च पदस्थ कर्मचारी नै चाहिरहेका छैनन् । किनकि कारागारमा जति बेथिति मौलायो त्यति नै उनीहरुले मोटो कमिसन पाइरहेका छन ।

बुधबार मात्रै ललितपुरको नख्खु कारागारमा झडप भयो । बाहिर कैदीबन्दीले आन्दोलन गरे भन्ने समाचार फैलियो । तर, बास्तविकता चौकिदार र नाइकेहरुका बीचमा आर्थिक बाँडफाडमा कुरा नमिल्दा नयाँ ब्लकमा उनीहरुबीच नै झडप भएको थियो । नख्खु कारागारमा सन्तोष गुरुङले चलाउदै आएको कमिसन धन्दा र कैदीबन्दीले पाएको सास्ती अच्चमको छ । कारागारभित्रै कुटपिट र यातनाको बयान नै गरी साध्य छैन । सामान्य कुरामा समेत चौकिदार र नाइकेहरुको आतंकका कारण कैदीबन्दीले ठूलो समस्या झेल्दै आएका छन् ।

नख्खु कारागारमा ३ वटा ब्लक छन् । नयाँ ब्लक, सीआरसी ब्लक र डीआरसी ब्लक । तपाई हामीलाई सजिलै पत्याउँन गाह्रो पर्छ, तर एउटा कारागारका चौकिदारले महिनामा २५र३० लाख भन्दा बढी रकम कमाइरहेका छन् । तर, उनीहरुको मनोमानी र रबैयाको बिरोधमा बोल्दा अनाहकमा कैदी बन्दी कुटपिटदेखि सरुवा हुनुपरेको पीडा कैद भुक्तान गरेर बाहिरिएकाहरुले नै सुनाउने गरेका छन् ।

कारागारहरुमा आन्तरिक प्रशासनको ब्यवस्था गरिएको हुन्छ जहाँ कैदी–बन्दी नै प्रमुखदेखि नाइके–सह–नाइके हुन्छन् । आन्तरिक प्रशासन प्रमुखलाई चौकिदार भनिन्छ भने चौकिदारको जिम्मेवारी पाउन कैदी–बन्दीहरुले लाखौं खर्चिने गरेको पाइएको छ । कारागार भित्र आन्तरिक प्रशासनको नाममा केही कैदीले अन्य कैदी बन्दीमाथी जंगीशासन चलाउँदा समेत जेल प्रशासन रमिते बनिरहेका छन् ।
नख्खु कारागार ललितपुरको डीआरसी ब्लक, जहाँ चल्छ अनौठो कमिसन धन्दा
नख्खु कारागारको डिआरसी ब्लक जहाँ अनिल राई चौकिदार भएपनि सबै काम पूर्वचौकिदार उज्वल खत्रीले गर्दै आएका छन् । सुरज महर्जन, सयन शाक्य, रोसन नेपाली, सुरेन नगरकोटी, सागर खड्का,सागरश्रीस मगर लगायत नाइकेको टोलीले त्रास र विभिन्न प्रलोभन दिएर मोटो रकम असुल्दै आएको आरोप लाग्दै आएको छ । उनीहरुले नयाँ आउने कैदीबन्दीसँग ३ लाखसम्म असुल्ने गरेको कैद भुक्तान गरेर बाहिर आएकाहरुको गुनासो छ ।

अपहरण मुद्धामा कैद भुक्तानी गरेर बाहिरिएका सुजन यादव भनी चिनाउने श्रीचन यादवले नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको भतिज भएको भन्दै बाहिरबाटै कारागारको आन्तरिक प्रशासनमा हालीमुहाली गरिरहेका छन । यादवले कारागारभित्रै रहेका खत्री र मगर थरका दुई जना ब्यक्तीको नागरिकता बाहिर ल्याएर उनीहरुकै नाममा निकालिएको सिमकार्ड प्रयोग गरिरहेका छन् । कारागारमा सरकारले उपलब्ध गराउने उपचार खर्चमै लाखौ घोटाला हुँदै आएको छ ।

विरामी हुँदा अस्पतालमा कैदीबन्दीले नै पैसा तिर्नुपर्ने तर, विल भने चौकिदार र नाइकेलाई बुझाउने गरेको गुनासो उनीहरुले गरेका छन । सोही विलबाट भुक्तानी लिई चौकिदार र नाइके सहनाइकेले लिने गरेका छन् । कारागारमा टेलिफोन सेवा सुविधा दिन्छु भन्दै मोटो रकम असुल्ने गरेको पनि पाइएको छ । फोन प्रयोग गरे बाफत प्रतिमिनेट मिनेट एनसिएलमा ४ रुपैयाँ र नेपाल टेलिकमको ३ रुपैया चौकिदार र नाइकेले असुल्ने गरेका छन् । नयाँ कैदीबन्दीलाई ३ नम्बर कोठामा राखेर राम्रो ठाउँमा सुत्ने ब्यवस्था गर्छु भन्दै १ देखि २ लाख रकम उठाएर ठगी धन्दा मच्चाउदा समेत कारागार प्रशासन चुपचाप बस्नुले मिलेमतो प्रष्टै देखिन्छ ।

कारागारभित्र रहेको पसलमै ब्रम्हलुट मच्चाइदैछ । चाउचाउको मुल्य ३५, तरकारी एक मुठाको ६० देखि ६५, दुध चियाको ३० रुपैयाँ, सानो बिष्कुटको ३० रुपैया उठाउने गरिएको छ । अझ कारागारभित्रै नेपालमा प्रतिबन्ध लगाइएका जुवा समेत खेलाउने गरेको पाइएको छ । चौकिदार र नाइकेले ४० प्रतिशत रकम आफूले राखेर हड्डी नामक चाइनीज जुवा, सट्टेबाजी, पुल हाउस–स्नोकर पुलको किट्टी पङ लगायतका थुप्रै जुवा खेल पनि उनीहरुले नै खेलाउने गरेका छन् ।

सरकारले दिने सिदा रकम र रासन पूर्व चौकिदार उज्वल खत्री र नाइकेहरुकै हातमा दिइन्छ । तर, कैदीबन्दीलाई गुणस्तरहिन खाना खुवाउने गरेको कैद भुक्तान गरेर आएका ब्यक्तीहरुले बताउने गरेका छन । यी घटनाक्रम र गतिविधिले कारागारमा थुनिएकाहरुको गतिविधि निगरानी हुन नसक्दा एवं आवश्यक प्रविधिको अभावका कारण नेपालका कारागारहरु सुधारगृह नभई अपराध बढाउने थलो बनिरहेका छन् । चौकिदार, नाइके, सहनाइकेले कारागार भित्र मच्चाउदै आएको आतंक र लुटमाथि राज्य किन मौन बसिरहेको छ भन्ने गम्भिर प्रश्न उब्जिएको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode