बालकुमारी घटनाका एसएसपी शाह र डिएसपी लम्सालका यस्ता थिए काण्डहरु
ललितपुर । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई फिर्ता बोलाएको छ । शुक्रबार बालकुमारीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका सीडीओ रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ भने ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको हो ।
तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन गरेका हाल ललितपुर परिसरका प्रमुख, एसएसपी शाहको कार्यक्षमतामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । यसअघि शाह रौतहट प्रहरी प्रमुख हुँदा पत्रकारलाई लागु औषध राखेर फराएको अरोप समेत लागेको थियो । प्रहरी हेडक्वाटरले उनीमाथि कारवाही गर्न अनुसन्धान गर्न टोली बनाएको भएपनि उनीमाथि कुनै कारबाही भएन ।
बालकुमारी घटनाका सन्दर्भमा छानविन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ । छानविन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश लम्साल, इपिएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
डीएसपी लम्साल यसअघि वृत्त महाराजगञ्जमा रहँदा कोभिडको समयमा काम गरेर घर फर्कने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए । अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा उनी कारवाहीस्वरूप महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका थिए । डीएसपी लम्साल जुवाडे पक्राउको काण्डमा पनि आर्थिक विवादमा परेका थिए । लम्साल निकै विवादित डीएसपी हुन् । डीएसपी लम्साल एमाले निकट मानिन्छन् । एमालेका नेताहरुको आडमा लम्सालले धेरै ठाउँहरुमा उत्पात मच्चाउँदै आएका बेला बालकुमारीमा काण्ड गरेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो । प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
यो घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले शुक्रबार नै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । अन्य सदस्यमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल रहेका छन् ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया