Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

गैरआवासीय नेपालीलाई नागरिकता प्रदान : के गर्न पाउँछन् के गर्न पाउँदैनन् ?


काठमाण्डौ । सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता वितरण सुरु गरेको छ । गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता वितरण शुभारम्भ गरेका हुन् । उनले एनआरएन अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्रि केसीलाई नेपाली नागरिकता हस्तान्तरण गरे । प्रधानमन्त्रीले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् । निकै ठूलो संघर्ष र मिहिनेतपछिसफलता हासिल गरेको दाहालको भनाई छ ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको बताएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताएका छन् । उनले यो नागरिकतालाई पूर्ण अधिकारसहित निरन्तरता दिन मागसमेत गरे ।

संघका अध्यक्ष कुल आचार्यले नेपाली नागरिकता पाएसँगै फेरि आफूहरुसँग भएको स्रोत, साधन, सिप, अनुभव र विश्वव्यापी सन्जाल उपयोग गरेर मातृभूमिको सेवा गर्न पाउँदा भावुक बनेको प्रतिक्रिया दिए । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् । यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode