संसदमा चर्काचर्की : एमाले–माओवादीबीच भनाभन, आरजुको गुनासो
काठमाण्डौ । आजदेखि सुरु भएको संघीय संसदको अधिवेशनमा शरणार्थी प्रकरणका विषयमा चर्काचर्की भएका छ । बैठकको सुरुमै विभिन्न दलका सांसदहरूले बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेलाई सांसदहरूलाई सम्झाउन कठिन परेको थियो । सांसदहरुले आकस्मिक समयको माग गरेका थिए ।
त्यसपछि सभामुखले आकस्मिक समयको व्यवस्था गरेका थिए । सुरुमा नेमकिपा सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा मेछिएका सबैको छानबिन गर्नुपर्ने माग गरे । तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको उल्लेख गर्दै उनले संसद बैठकमा भने, ‘८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ? यी सबै विषयमा छानबिन हुनुप¥यो ।’
त्यसपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपालमा भएका भ्रष्टाचारका काण्डहरूमा नेताहरू जोगिने र कर्मचारीहरू मात्र फस्ने प्रवृत्ति देखिएको जिकिर गरे । शरणार्थी प्रकरणमा पनि मिलीजुली गरेर राजनीतिक व्यक्तिलाई उन्मुक्ति दिने कुरा अब स्वीकार्य नहुने उनको भनाई छ । उनले थपे, ‘२०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गरौं ।’ उक्त आयोगमार्फत पोखरा विमानस्थल, वाइडबडी, एनसेल काण्डहरुको छानबिन गरिनुपर्ने उनको माग रहेको छ ।
त्यसपछि बोलेका नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि प्रश्न गरे । नक्कली शरणार्थी प्रकरणको छानबिनको ट्रेलर मात्रै आएको र अब चलचित्र नै सार्वजनिक गर्छु भनेर दिएको अभिव्यक्तिलाई केन्द्रमा राखेर गिरीले अन्य सबै भ्रष्टाचारका काण्डको छानबिन गर्न प्रधानमन्त्रीलाई चुनौति दिए । प्रमुख सचेतक गिरीले भने,‘प्रधानमन्त्री ज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउँन बाँकी नै भन्दै हिँड्नुभएको छ । सम्माननीय प्रधानमन्त्री ज्यू, हामी फिल्म हेर्न आतुर छौँ, हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस् । हामीलाई अव विश्वास छ, वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविरका घोटला काण्डमा अरवौ रुपैयाँ राज्यको सम्पत्ति लुटिएको थियो । सिसीटिभी फुटेज र बजेटमा बिचौलिया आएका काण्डहरु यो अधिवेशनमा अव गंभीरताका साथ छलफल गरौँ । यस्ता काण्डमा परेकाहरूलाई एक एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ ।’
एमालेकै सचेतक महेश बर्तौलाले शरणार्थी प्रकरणमा कसैलाई फसाउने र कसैलाई जोगाउने खेल भएको आशंका व्यक्त गरे । बर्तौलाले सरकारमाथि आशंका व्यक्त गरेका हुन् ।
त्यसैगरी एमालेकै सांसद सूर्य थापाले शरणार्थी प्रकरणमा छानबिनका क्रममा दबाब आएको भनेर प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिमाथि प्रश्न गरे । उनी त्यतिमै रोकिएनन्, क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको छानबिन गरेर पूरा चलचित्र देखाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै आफू टिकट काटेर तयार भएर बसेको बताए ।
एमाले सांसदले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको कुरा उठाएपछि नेकपा माओवादी केन्द्रका सांसदले जवाफ फर्काइहाले । सांसद माधब सापकोटाले शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी मुछिएपछि एमालेले विषयान्तर गर्न खोजेको भन्दै आपत्ति जनाए । उनले भने,‘एमाले भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने तपाईँहरू विषयान्तर नगर्नुस्, सम्माननीय प्रधानमन्त्रीले बोल्नुभएका कुरालाई जे खिसीटिउरी गरिराख्नुभएको छ, तपाईँहरूलाई नै त्यसले नाङ्गो बनाइराखेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याएर बुझाउनुहोस्, त्यसैमा तपाईँहरूको कल्याण छ । म चुनौती दिन चाहन्छु विषयान्तर गर्ने, खिसिटिउरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्न खोज्ने तपाईँहरूको शैलीलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’
नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूमाथि अनावश्यक आरोप लगाएर चरित्रहत्या गर्न खोजेको भन्दै असन्तुष्टि जनाइन् । उनले आफूले भ्रष्टाचार नगरेको जिकिर गर्दै महिला भएकै कारण हेपिएको गुनासो गरिन् ।
राणाले भनिन्–“हामी सम्पत्ति विवरण बुझाउँछौं । मेरो श्रीमान ५–६ चोटि प्रधानमन्त्री हुनुभएको छ । मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, आजसम्म जति सांसद छौं, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेवसाइटमा राखियोस । जनताले देखोस, कसको बढ्यो, कति बढ्यो, स्रोत के हो ? इन्डियामा हरेक महिना जुडिसियलका कर्मचारीले आफ्नो सबै हिसाब डिक्लीयर गर्नुपर्छ । हरेक महिनाको बिल बुझाउनुपर्छ । हामी त्यो कानून ल्याउन सक्छौं ? अरुलाई होच्याउन पाए जे पनि बोलेर हुन्छ ?”
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शरणार्थी प्रकरणमा आफ्नो नाम पनि जोडेको भन्दै आपत्ति जनाए । उनले भने, ‘मेरै नामसमेत मुछेर कुनै–कुनै सञ्चारमाध्यमबाट समाचार आइरहेको थाहा पाएँ, छानबिन होस् । मैले गल्ती गरेको रहेछु भने मैले पनि कानूनबमोजिम कारबाही भोग्नुपर्छ । म राजनीति छोडेर कारबाही भोग्न तयार छु । तर जो दोषी छ, त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ ?’
शरणार्थी प्रकरणकै विषयमा नेकपा एसका सांसद मेटमणि चोधरीले तत्कालिन सरकारले नै अपराधकर्ममा संलग्न भएको आरोप लगाए । उनले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे । उनले भने, “तत्कालीन समयमा मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ । मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यक्रम लागेको छ। त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ । अनिमात्रै भ्रष्टाचारीको अनुहार कस्तो छ? त्यो कुरा पत्ता लाग्न सक्छ ।”
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहमा यी समेत सलंग्न भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया