वल्ड नेवाः अर्गनाइजेसन पोर्तुगल च्याप्टरद्वारा म्ह पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न
पोर्तुगल । वल्ड नेवाः अर्गनाइजेसन पोर्तुगल च्याप्टरले नेपाल सम्बत ११४६ न्हु दँको शुभारम्भको ऐतिहासिक अवसरमा विशेष म्ह पुजाका साथै शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य समुदायका सदस्यहरूलाई एउटै मञ्चमा ल्याई नेवाः संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने रहेको थियो ।
संस्थाका अध्यक्ष राजेश जोशीले कार्यक्रममा बोल्दै नेवाः संस्कृति र नेपालको मौलिक पहिचानका बारेमा जोड दिए । उनले भने– “नेवाः संस्कृति हाम्रो गौरव र हाम्रो पहिचान हो। नेपाल सम्बत केवल पात्रो होइन, यो हाम्रो इतिहास, भाषा र सभ्यताको जीवन्त प्रतीक हो, जसले हामीलाई आत्मसम्मान र ऐक्यताको प्रेरणा प्रदान गर्छ।”
उनले थपे, “नेवाः जाति विश्वकै प्राचीन र सभ्य जातिहरूमध्ये एक हो। हाम्रो वास्तुकला, परम्परा, भेषभूषा, संगीत, नृत्य र भाषा यी सबैले हामीलाई विशिष्ट बनाएका छन्। यही मौलिकताले हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान र पहिचान दिलाएको छ ।” राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल सम्बत सुरुवात् गरेको जानकारी पनि दिए ।

जोशीले नेपालको संयुक्त राष्ट्रसंघ सदस्यता आवेदनका समयमा रञ्जना लिपीलाई नेपालकी मौलिक लिपीका रूपमा उल्लेख गरिएको ऐतिहासिक तथ्य पनि स्मरण गरे र यसलाई “हाम्रो सांस्कृतिक गौरवको सुन्दर प्रमाण”का रूपमा व्याख्या गरे ।
नेपाल भाषा (नेवाः भाय्) विश्वकै प्राचीन भाषामध्ये एक भएको उल्लेख गर्दै उनले भने, –“हाम्रो पहिचान भनेको हाम्रो भाषा, संस्कृति, कला र सम्पदामै निहित छ । त्यसैले यसको संरक्षण र निरन्तरतामा हामी सबैको साझा जिम्मेवारी रहन्छ ।”
सन् २०२५ मा स्थापना भएको वल्ड नेवाः अर्गनाइजेसन पोर्तुगल च्याप्टरले विदेशमा रहेका नेवाः समुदायबीच एकता, सांस्कृतिक निरन्तरता र पहिचानको जगेर्ना गर्ने उद्देश्यका साथ निरन्तर क्रियाशील रहँदै आएको छ ।
संस्थाले विगतमा बिस्केट जात्रा, म्ह पूजा, बुद्ध जयन्ति ¥याली, र होली पर्व जस्ता चाडपर्वहरू अत्यन्त उत्साहका साथ आयोजना गरिसकेको जानकारी संस्थाका उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले दिए ।
क्याटेगोरी : विदेश










प्रतिक्रिया