हातमा हात, साथमा साथ दिन सक्नेहरू मात्र आउनुहोस् : पुनम गौतम

नबोली बसौँ भनेको मनले मानेन । विगतका वर्षहरूदेखि विदेशमा बस्ने नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आबद्ध भएर के–कति राम्रा–नराम्रा काम गरेँ, त्यो यही समाजलाई थाहा होला । तर पछिल्लो २०२३–२०२५ को अधिवेशनमा समाज र संस्थालाई मिलाएर अगाडि जानुपर्छ भनियो । समाज मिल्छ, टुक्रिएको संस्था एक हुन्छ भने समाजसेवा गर्न जुनसुकै पद लिए पनि उही ठान्दै तल झारिएको पदीय जिम्मेवारीलाई सहर्ष स्वीकार गरेँ ।
नवौं राष्ट्रिय महाधिवेशनबाट ५१ सदस्यीय जम्बो टोली गठन भयो, तर समस्या उही। ५१ जनाको समिति भए पनि कैयौं सदस्यहरू कहिल्यै मिटिङमा देखिएनन् । मान्छे जति, कुरा र अर्थविहीन चुरो। पहिलो एक वर्षमा सकेसम्मको समय दिइयो, र देशमा नरहँदा बाहेक कुनै मिटिङ छुटाइएन । मिटिङमा “म यो पार्टीको, म त्यो पार्टीको” भन्ने कुरा बारम्बार आयो। समितिमा न त समाज बुझेका, न त संस्था । बिना तुकका टिप्पणी र विश्लेषण मात्र भए । जुन पदका लागि निर्वाचित भएका थियौं, त्यो पदीय जिम्मेवारी वहन गर्ने कोही देखिएन ।
त्यति मात्रै कहाँ हो र ? अर्थविहीन टीका–टिप्पणी गर्दै सामाजिक सञ्जाल रंगाउने र उक्साउनेहरू मात्र देखिए। यस्तै हुँदै जाँदा एक वर्षे कार्यकाल सकियो । तर साधारण सभा गरेर दोस्रो कार्यकालको जिम्मेवारी सुम्पिनुपर्ने पहिलो कार्यकालका अध्यक्ष उमेश खड्काले जिम्मेवारी वहन गर्न सक्नुभएन ।
पोर्तुगलका लागि केन्द्रीय सदस्य आइसीसी ज्युको नेतृत्वमा पुस्तक निकाल्ने भनियो र सोही अनुरूप पुस्तक तयार पारियो, तर विमोचन एकलौटी ढंगले गरियो । न त आय–व्ययको लेखाजोखा नै गरियो । पूर्व अध्यक्ष खड्काले समाजलाई नकार्दै केही मातहत व्यक्तिहरू लिएर आफैँ हिँड्नुभयो । न त समाजलाई टेर्नुभयो, न नैतिकताको परवाह गर्नुभयो । संस्थापक अध्यक्ष लगायत पूर्व अध्यक्षलाई भेट्ने भन्दै आलटाल गरिरहनुभयो ।
पोर्तुगलमा विकराल समस्या बनेको पासपोर्ट टोली ल्याएर काम सकिएपछि जिम्मेवारी हस्तान्तरण गर्ने मौखिक सहमति भयो । हामीले एआरआईमा रहेको कार्यालयमा पासपोर्ट टोली आउने जानकारी समूहमा देख्यौं । टोली आउँदा समूहमा सबै साथीहरूलाई स्वेच्छिक सेवा गर्न अनुरोध गरियो । त्यसै अनुसार म पनि कार्यालय गइयो, तर त्यहाँको माहोल अर्कै रहेछ । भित्र प्रवेशमा रोक लगाइयो । “अध्यक्षले कसैलाई भित्र छिर्न नदिने भनेका छन” भनेर हुकुम सुनाइयो । हेर्दा बाउन्सर जस्ता देखिनेहरूले मलाई रोक लगाए । भनियो– कार्यसमितिका जो भए पनि छिर्न नदिनू भन्ने आदेश आएको छ । म अचम्ममा परेँ ! उपाध्यक्षलाई कार्यसमिति बाहिरका मान्छेले आफ्नै कार्यालयमा छिर्न नदिने ? यो त राणा शासन जस्तै भयो भनेर समूहमा लेखेँ । त्यसपछि हल्ला–खल्ला भयो । केही आसेपासेहरूले “खाउजस्तै गरी” संवाद दिएर जाई लागे ।
अहिले सबैले जिकिर गर्ने कुरा भनेकै पासपोर्ट काण्ड र घोटाला हो । तर कोही किन बोल्दैन ? बोल्नेले त पोलिन्छ भन्ने जस्तो अवस्था भयो । भ्रष्टाचार मौलाउँदै छ, खुल्ला रूपमा समाजमा छाती फुलाएर हिंड्नेहरू छन् । तर त्यसविरुद्ध कसले कारवाही गर्छ ?
संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले आइसीसी राजकुमार थापाले आफू कोषाध्यक्ष हुँ भन्दै कोषको पैसा हिनामिना गरेको पाइएको बताए । फेरि दोस्रो कार्यकाल दिने कुरा आयो तर फेरि उही आनाकानी । संस्थापक, पूर्वअध्यक्ष सबैको बेवास्ता । नैतिकता नै नभएझैँ व्यवहार देखियो ।
संसार हाक्न सक्छु भन्ने नारीलाई पनि बारम्बार बलिको बोका बनाइयो । एउटै कार्यालयमा सहकार्य गर्ने क्रममा नारीमाथि अन्याय, अपमान भयो । सार्वजनिक रूपमा अपशब्द र गाली गर्नेहरूलाई यो समाजले नै पूज्यो । भ्रष्टाचार गर्नेलाई मलजल गर्यो । अनि संस्था कसरी राम्रो रहला ? नराम्रो गर्नेहरूलाई समाजले बहिष्कार गर्न सक्छ भने गर्नुपर्छ, होइन भने गर्नेहरूलाई साथ दिनुपर्छ ।
हिजो के ग¥यो होइन, भोलि राम्रो गर्छु भनेर हिँड्नुपर्छ । नारी प्रतिनिधित्व भएको ठाउँमा नारीहरुकै विरोध भयो । समाज मिलाउनुपर्छ भन्ने कुरा मुखले होइन, व्यवहारमा देखाउनुपर्छ । महिनामा २–३ वटा शव एनआरएनएले उठाउनुपर्छ, तर त्यसै शवमाथि घिनलाग्दो राजनीति गरिन्छ ।
एनआरएनएमा समाजसेवा गर्न आउनेहरूलाई काम गर्न दिऊँ । नगर्नेहरू र गर्न नदिनेहरूबाट समाज मुक्त गरौँ । नवौं अधिवेशनबाट जोजति आयौँ, देखिने गरी काम कसैले गर्न सकेनन् । तर सन् २०२३–२०२५ को कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकालकी अध्यक्ष दीपा काफ्लेले भने भरपुर समय दिइन्, काम गरिन् ।
नारी भएकै कारण औँलामा गन्न सकिने समाज र व्यक्तिहरूको मात्रै समर्थन रह्यो अध्यक्ष काफ्लेलाई । तर पनि उनले हिम्मत हारिनन् । अन्तिम समयसम्म पनि लागिरहिन् । तर दुर्भाग्यवश, अध्यक्ष हुँ भनेर खुलेर काम गर्न दिइएन । कार्यकाल पूरा गर्नै नदिई अपूरोमै बित्यो — सन् २०२३–२०२५ ।
यदि यस्तै रहिरहने हो भने समाजसेवा गर्छु भनेर आउनेहरूको के अर्थ ? समितिमा आउनेहरू आफैं नगर्ने, गर्नेहरूलाई पनि गर्न नदिने ? त्यसले संस्था बिगार्छ । एनआरएनएमा “गर्छु” भन्ने, जुझारु युवाको खाँचो छ । हातमा हात, साथमा साथ दिन सक्नेहरू मात्र आउनुहोस् ।
अन्त्यमा, २०२५–२०२७ कार्यकालमा जिम्मेवारी सम्हाल्न लाग्नु भएका सम्पूर्णलाई हार्दिक बधाई ! तपाईंहरूको कार्यकाल दृढ, पारदर्शी र प्रभावशाली होस् भन्ने शुभकामना ।
-पुनम गौतम
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोर्तुगल
क्याटेगोरी : विदेश
प्रतिक्रिया