नेपाली जनसम्पर्क समिति न्यूजिल्याण्डद्धारा क्रियाशील सदस्यता संकलन अभियान सुरु

न्यूजिल्याण्ड । नेपाली जनसम्पर्क समिति न्यूजिल्याण्डले आसन्न अधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता संकलन अभियान सुरु गरेको छ। संगठनलाई थप सशक्त र लोकतान्त्रिक बनाउने उद्देश्यका साथ समिति नेतृत्वले नेपाली काँग्रेसका सम्पूर्ण समर्थकहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेको हो।
समितिका सभापति बुद्धि सागरले यस अभियानबारे भनाइ दिँदै भने, “नेपाली जनसम्पर्क समिति प्रवासी नेपालीहरूको साझा मंच हो। हामी सबैको सक्रियताबाट मात्र यो संस्था अझ मजबुत र लोकतान्त्रिक बन्न सक्छ। अधिवेशनलाई सफल बनाउन सबैलाई क्रियाशील सदस्यता फारम भरेर सहभागिता जनाउन आग्रह गर्दछु।”
नेपाली विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सदस्य रोशन श्रेष्ठले नेपाली काँग्रेसको विचारधारा र संगठनात्मक अनुशासनलाई प्रवासी भूमिमा बलियो बनाउने बेला आएको बताए। उनले भने,
“नेपाली काँग्रेसको विचारधारामा आस्था राख्ने हामी प्रवासी नेपालीहरूले संगठनप्रति उत्तरदायी बन्नुपर्ने बेला आएको छ। जनसम्पर्क समिति न्यूजÞील्याण्डको अधिवेशन हाम्रो साझा आवाजलाई संगठित गर्ने अवसर हो। क्रियाशील सदस्यता फारममार्फत हामीले लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनेछौं।”
यसैबीच, शंकरदेव क्याम्पसका स्ववियु सदस्य सुलभ हमालले युवाको सहभागिता अनिवार्य भएको बताउँदै छोटकरीमा प्रतिक्रिया दिए, “प्रवासी भूमिमा युवाहरुको सक्रियता पार्टीलाई नयाँ उचाइमा लैजान सहायक हुन्छ। हामी सबै मिलेर अधिवेशनलाई सफल बनाऔं।”
सम्बन्धित संयोजक वा प्रतिनिधिमार्फत सदस्यता फारम संकलन प्रक्रिया अघि बढाइने जनाइएको छ। अधिवेशनको मिति र विस्तृत कार्यक्रमबारे चाँडै सार्वजनिक जानकारी गराइने समिति स्रोतले जनाएको छ
क्याटेगोरी : विदेश
प्रतिक्रिया