टर्कीमा भुकम्प : सयौँको मृत्यु

सोमबार बिहान टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म करिब १५ सय मानिसको मृत्यु भएको छ । उद्धार कार्य जारी रहेको र सयौँ मानिस घाइते भएकाले भूकम्पका कारण मृत्यु हुनेको संख्या अझै बढ्ने देखिन्छ । यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ ।
अहिले उद्धार कार्यलाई प्राथमिकता दिइएकाले क्षतिको यकिन तथ्याङ्क संकलन भइसकेको छैन । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् ।
साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पु¥याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् । टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।
क्याटेगोरी : विदेश
प्रतिक्रिया