Techie IT
  • १७ फागुन २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्र जोगाउने पक्षमा उभिन ओलीको मतदातालाई आग्रह


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले निर्माण वा विध्वंसको बाटो रोज्ने विषयमा मतदाताले स्पष्ट कित्ताकाट गर्नुपर्ने बताएका छन्।

मतदातामाझ भिडियो सन्देश जारी गर्दै ओलीले राष्ट्र जोगाउने पक्षमा उभिने कि राष्ट्रको भविष्यप्रति उदासीन रहने भन्ने निर्णयको घडी आएको उल्लेख गरे। “अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ। तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा?” उनले प्रश्न गरे। समयमै आफ्नो कित्ता स्पष्ट नगरे भविष्यमा आत्मग्लानि हुने चेतावनीसमेत उनले दिए।

निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको दाबी गर्दै उनले देश बचाउने कि नबचाउने भन्ने गम्भीर प्रश्नको जवाफ दिनुपर्ने बताए। “यो सोध्न मिल्ने प्रश्न होइन, तर सोध्नैपर्ने भएको छ,” उनले भने।

आफूप्रति विभिन्न भ्रम फैलाइएको स्वीकार गर्दै ओलीले केही कमजोरी रहेको पनि माने। तर राष्ट्रिय अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा आफूले कहिल्यै सम्झौता नगरेको र नगर्ने प्रतिबद्धता व्यक्त गरे।

देश पहिले भन्ने भावनालाई आत्मसात् गर्न आह्वान गर्दै उनले संविधान, नियम, भूमि, जनता र सार्वजनिक सम्पत्तिको संरक्षण नै राष्ट्रप्रेम भएको बताए। “सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय—यी सबै तपाईंको कर र भरोसाले बनेका हुन्,” उनले भने, “यी जल्दा तपाईंको सपना पनि जल्छ।”

राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ओलीले आफ्नो माटो, सीमा र पहिचानप्रति गर्व गर्ने शक्ति नै राष्ट्रको आत्मबल भएको बताए। “हामीलाई स्वाभिमान नझुक्ने ग्यारेन्टी चाहिएको छ, र त्यसका लागि देश पहिले भन्ने भावना आवश्यक छ,” उनले जोड दिए।


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode