नेपाली कांग्रेस का उम्मेदवार फागो भन्छन्– ‘अब परिणाम देखिने राजनीति चाहिन्छ’
मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ जिल्ला–१ मा चुनावी माहोल तातिँदै गएको छ। नेपाली कांग्रेस का उम्मेदवार खड्ग फागो अहिले चुनावी घरदैलो अभियानमा सक्रिय देखिनुभएको छ।
पूर्व उर्लाबारी नगरपालिका का मेयरसमेत रहनुभएका फागोले आफू विकासमुखी सोच र कामका आधारमा मतदातामाझ स्थापित भएको दाबी गर्नुभयो। घरदैलोका क्रममा मतदाताले देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र तीव्र विकासको अपेक्षा राखेको उहाँको भनाइ छ।
फागोका अनुसार अहिले विशेषगरी युवापुस्तामा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि देखिएको छ। रोजगारी सिर्जना, सुशासन र अवसरको खोजी नै मतदाताको मुख्य चासो बनेको उहाँले बताउनुभयो। देश कर र रेमिट्यान्समा मात्र निर्भर भएको चिन्ता नागरिकमा बढेको उल्लेख गर्दै उहाँले पर्यटन, कृषि र उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

घरदैलो अभियानका क्रममा नागरिकबाट आधारभूत सेवासम्बन्धी गुनासा बढी आएको उहाँले बताउनुभयो। स्वास्थ्य सेवा सहज नभएको, शिक्षाको गुणस्तरमा समस्या रहेको, खानेपानी अभाव, किसानले समयमा मल नपाउने र सिँचाइको अभावजस्ता विषय मतदाताले उठाउने गरेको उहाँको भनाइ छ। गाउँमा बिजुलीका पोल नपुगेको तथा बनेका सडक पनि गुणस्तरीय नभएको गुनासो सुनिएको उहाँले बताउनुभयो।
यी समस्या समाधानका लागि नीतिगत सुधारसँगै कार्यान्वयनमा जोड दिनुपर्ने फागोको भनाइ छ। विगतमा काम गर्ने तरिकामा कमजोरी रहेको स्वीकार गर्दै उहाँले अब स्पष्ट योजना बनाएर अघि बढ्ने बताउनुभयो। मल कारखाना स्थापना, उद्योग विस्तार, कोल्ड स्टोर निर्माण तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने उहाँले जानकारी दिनुभयो।
सुशासनका लागि सेवा प्रवाहलाई सरल बनाउने, जिम्मेवारी स्पष्ट गर्ने र योजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना रहेको फागोले बताउनुभयो। घोषणा मात्रै गर्ने राजनीति अब नचल्ने भन्दै जनताले प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
मतदातासँग अपिल गर्दै फागोले उम्मेदवारको सोच र कामका आधारमा निर्णय गर्न आग्रह गर्नुभयो। आफूलाई सेवा गर्ने अवसर दिए परिणाम देखाएर विश्वास जित्ने उहाँको दाबी छ।
क्याटेगोरी : देश





![अजयबाबु शिवाकोटीले सार्वजनिक गरे प्रतिबद्धता पत्र [पूर्णपाठ]](https://www.khojmissionnews.com/wp-content/uploads/2026/02/ajayababu-180x180.jpg)







प्रतिक्रिया