देश दौडाहामा नेपाली कम्युनिष्ट पार्टी : प्रचण्ड, माधव र झलनाथ के भन्छन् ?
जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरण अन्य प्रदेशमा पनि देखिने दावी गरको छन् । जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेशबाट सुरु भएको नयाँ समिकरण अव सवै प्रदेशमा पनि अघि बढ्ने दावी गरेका हुन् । एमालेबाहेक नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल र नेपाली कांग्रेस समेत बनेर नयाँ सरकार बनेकोमा प्रचण्डले खुशी व्यक्त गरे ।
‘मधेशले अहिले भर्खरै पनि परम्परागत तथाकथित समीकरणको पछि नलागेर मधेश सरकार बनाउने बेलामा नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल र नेपाली कांग्रेस समेत बनेर नयाँ सरकार बनेको छ । केही वर्षदेखिको समीकरण तोडिएको छ । र नयाँ समीकरणको सुरुवात पनि मधेशबाटै भएको छ,’ उनले भने, ‘मधेशबाट देखिएको यो सन्देश देशका बाँकी प्रदेशमा पनि अघि बढ्नेछ ।’
उनले मुलुकमा गणतन्त्र स्थापीत भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सवैलाई आत्मसमिक्षा गर्दै सुध्रने अवसर दिएको बताए ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले नेकपामा युवाहरुको आकर्षण बढेको र हजारौंको संख्यामा युवाहरु आफ्नो पार्टी प्रवेश गरेको बताए । उनले भ्रष्टाचारको अन्त्य गरि सुशासन कायम गर्दै जेनजी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने जिकिर गरे ।
नेता झलनाथ खनालले विदेशिएका युवाहरूलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताएका छन् । उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे ।
‘आज देशमा जुन प्रकारको भ्रष्टाचार भइरहेको छ । देशभर नै भ्रष्टाचार छ, शिरदेखि तीरसम्म भ्रष्टाचार छ । भ्रष्टाचारीहरूले देशलाई नराम्रो ढंगले डसिरहेको छ । त्यसलाई अन्त्य गर्ने व्यवस्था भनेको समाजवाद हो,’ नेता खनालले भने ।
त्यस्तै अन्य नेकपा नेताहरुले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापीत गर्दै मुलुकमा देखिएका बेथिति अन्त्य गर्ने धारणा राखेका थिए । नेकपाले पार्टी एकताको सन्देश दिन बिभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ ।
क्याटेगोरी : देश








प्रतिक्रिया