मिराज ढुंगाना आफैँ झुक्किए कि अरुलाई झुक्याए ? खै नयाँ दल ?

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि संसदबाट बनेको सरकार ढल्यो, अन्तरिम सरकार बन्यो । अब मुलुकले सही दिशा लिन्छ भन्ने अपेक्षा थियो । तर जेनजी पुस्ताहरुले नै मुलुकलाई उचित गन्तव्यतर्फ लैजान सकेको देखिएन । जेनजी आन्दोलनका अगुवा भनेर आफूलाई चिनाउँदै आएका मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने भन्दै राजधानीमा पत्रकार सम्मेलन गरे । प्रचारले उत्सुकता बढायो, तर परिणाम भने निराशाजनक रह्यो । दल घोषणा गर्ने भनिए पनि न त दलको नाम आयो, न खाका, न विधान । कार्यसमिति त परै जाओस्, चुनाव चिन्ह पनि थिएन । दलको घोषणा चाँही भएन, दल खोल्ने घोषणा भने भयो भनेर बुझ्न सकिन्छ ।
लाग्थ्यो, दल खोल्ने त होइन, भविष्यमा खोल्नसक्ने संकेत भने देखियो । ढुंगानाले दल खोले पनि तत्काल निर्वाचनमा भाग नलिने घोषणा गरे । आफूले चाहेको व्यवस्था, अर्थात् प्रमुख कार्यकारी प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली लागु गरे मात्रै निर्वाचनमा जाने उनले स्पष्ट पारे ।
अहिले पनि ८० लाख नेपाली विदेशमा रहेकाले उनीहरुलाई मतदानको अधिकार हुनुपर्ने उनको अर्को माग छ । त्यस्तै भ्रष्टाचारको अनुसन्धानका लागि नागरिकस्तरीय संयन्त्र गठन हुनुपर्ने उनले बताए । काठमाडौको पाँच तारे होटलमा गरिएको पत्रकार सम्मेलनमाथि पनि कतिपयले प्रश्न उठाएका छन् । दल नखोल्दै यस्तो तडकभडक देखाउन चाहनेले भविष्यमा दल खोलेर नेता बने भने के गर्लान भन्ने आशंका जायज थियो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीमात्रै थिएनन् । विभिन्न रुचिसहित पुगेका सहभागीहरूको प्रश्न फेस गर्नुपरेपछि मिरज आफैंले अरूलाई नबोल्न आग्रह गर्नुप¥यो ।
‘पार्टी खोल्छौँ भनेर सुनाउन बोलाइएको रहेछ । यो कुरा त फेसबुक पेजमै थियो । खासमा नयाँ केही भएन,’ हलमा भेटिएका एक युवाले भने । खासमा स्टेजमा रहेका मिरज समूह र तल क्यामेराबीच वार्ता चलिरहेजस्तो देखिन्थ्यो ।
अस्पष्टताले बढाउने नै असमञ्जस्यता हो । स्टेजमा रहेको मिरज समूहसँग मात्र हैन, तल रहेका युट्युवरबीच नै बाझाबाझ भएका दृश्य त्यहाँ देखियो ।
यत्रो पत्रकार सम्मेलन आखिर के का लागि थियो ? त्यो पनि स्पष्ट न मिरजले गर्न सके, न उनको समूहले नै ।
जेनजी आन्दोलनपछि संसद् ढल्यो, अन्तरिम सरकार बन्यो — देश नयाँ सुरुवातको आशामा थियो । तर आन्दोलनका अगुवा भनेर चिनिएका धेरैजना नेताहरू अहिले दिशाहीन र योजनाविहीन देखिँदैछन् । नीतिभन्दा प्रचार र नामभन्दा प्रदर्शनमा बढी जोड दिइरहेको देखिन्छ । ढुंगानाले जेनजी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागेको जानकारी दिए, यो कुरा भने सकारात्मक छ । किनकी अहिले जेनजीहरु तितरबितर भएको अवस्था छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया