ओलीलाई विद्याको जवाफ– कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न मिल्दैन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुनः पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै भण्डारीले विधि अनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको स्पष्ट पारेकी हुन् ।
उनको भनाइ छ–‘म नेकपा एमालेको पार्टी जीवनमा पुनः आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन,’ उनले भनिन्, ‘पार्टीकै जिम्मेवारी लिएर गएको हो । आइसकेपछि विधि अनुसार नै गरेको हुँ । म नेकपा एमालेको परिवारमा अहिले पनि आबद्ध छु भनेर भनेको हुँ ।’
तत्कालीन समय कोशी सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको पनि उनले सुनाइन् ।’जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभाको थ्यो । हामीले त्यसको आदर्श मर्मअनुसार कार्यक्रम गर्ने हो,’ उनले भनिन् ।
भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण त्यसै विवादमा ल्याइएकोसमेत बताएकी छिन् । ’पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन,’ उनले भनिन् । कसैलाई लाग्यो भन्दैमा आफ्नो सदस्यता फाल्न नमिल्ने उनको भनाइ छ ।
भण्डारीले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न अनुरोध गरेकी छन् । उनले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको उल्लेख गर्दै पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएको बताइन् । उनले भनिन्– मेरो निर्णयबाट म बिचलित हुने छैन ।”
गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो ।
त्यसैको जवाफस्वरुप भण्डारीले आज पत्रकार सम्मेलन गरेकी हुन् । भण्डारीले भनेकीछिन्–‘कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आशक्ति ममा छैन । किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु । मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो ।’
क्याटेगोरी : देश
प्रतिक्रिया