प्रधानमन्त्री ओली कोशी प्रदेशमा व्यस्त, अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज उद्घाटन गरेका छन् । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरे भने बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे । सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।
आजै प्रधानमन्त्री ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् । नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।
प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे । उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया