सहकारीको बचत अपचलनको छानबिन समितिको प्रतिवेदनमा के छ ? रविको तलब १ करोड

काठमाण्डौ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । ११ सय २४ पेज लामो प्रतिवेदनमा सहकारी अनियमिततामा मुछिएका विभिन्न आरोपीको बयान समेत समावेश छ ।
सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो । एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र निजका आफन्तको नाममा कानुन विपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ रकम अपचलन गरेको उल्ल्ेख छ । उक्त रकममध्ये ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातमा जम्मा भएको प्रमाण समितिले पेश गरेको छ । उक्त रकममध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको समितिले जनाएको छ ।
यस्तै, ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाइ रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले गोर्खा मिडियाको कारोबारमा भने पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछाने नै सम्लग्न रहेको उल्लेख गरेको छ ।
समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो ।
समितिले प्रतिवेदनमा भनेको छ, ‘तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ ।’
समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ ।
यता सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बयान दिएकी छिन् । उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको पनि स्वीकार गरेकी छन् ।

सबै आरोपीसँगको बयानपछि सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष जीबी राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।

यता पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले सहकारी अपचलन छानबिन समितिमा आफूलाई थाहा नै नदिई सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा सचिव राखेको बयान दिएका छन् । प्रतिवेदनमा उनले आफू साधारणसभामा गएर उपस्थितिमा हस्ताक्षर मात्र गरेको दाबी गरेका छन् । आफूले ६ महिना पछि व्यवस्थापक सागर केसीबाट जानकारी पाएपछि तुरुन्त राजीनामा दिएको उनले बयान दिएका छन् ।
ग्यालेक्सी टिभीका कर्मचारीलाई तलब १४ करोड ९३ लाख, रविले लिए १ करोडभन्दा धेरै
लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ । प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको तथ्य खुलासा गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८÷७९मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए । उनले १ माघ २०७७ देखि १ असार २०७९सम्म गोर्खा मिडियामा आवद्ध थिए । यअनुसार लामिछानले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ ।
रास्वपाका सहममहामन्त्री रहेका विपिनकुमार आचार्यले पनि यो अवधिमा गोखर्च मिडियाबाट ५३ लाख ५३ हजार १६६ रुर्पैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ । मिडिाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)ले आर्थिक वर्ष २०७८÷७९मा ३० लाख रुपैयाा तलबका रुपमा बुझेको विवरणमा उल्लेख छ ।
गोर्खा मिडियाले सञ्चालन अवधिका १४ करोड ९३ लाख २२ हजार रुपैयाँ तलबकै रुपमा खर्च गरेको देखिएको छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया