कांग्रेस–एमाले मिलनप्रति प्रचण्डको शंकैशंका, के भने संसदमा ?
काठमाण्डौ । सत्ताबाट बाहिरिदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मनको तितो पोखेका छन् । विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा सदनमा सम्बोधन गरेका प्रचण्ड निकै आक्रोषित देखिए । नेपाली कांग्रेस र नेकपा एमालेमाथि गम्भीर आरोप लगाएका प्रचण्डले संविधान संशोधनको मुद्धामा अलि बढि चिन्तित पनि देखिए ।
प्रधानमन्त्री पदमा रहेको अन्तिम क्षणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै आक्रोषित देखिन्थे । विश्वासको मत माग्द संसदमा प्रस्तुत भएका बेला सत्ताबाट बाहिरिनुपरेको पीडा पोखिएको थियो । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमतिलाई नरुचाएका प्रचण्डले छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान कांग्रेस एमालेलाई चेतावनी दिएका छन् ।
संविधान निर्माणमा माओवादीको सबैभन्दा धेरै लगानी रहेको दाबी गरेका प्रचण्डले ४७ सालको संविधान ब्यूताउन खोजिएको आशंकासमेत व्यक्त गरे । राष्ट्रियसभाको सबैभन्दा ठूलो दल माओवादी भएको स्मरण गराउँदै उनले संविधान संशोधन गरेर देखाउन चुनौति दिए । जथाभावी संविधान संशोधन गरिए फेरी विद्रोह हुन सक्ने प्रचण्डको चेतावनि छ ।
उनले भने– “दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ । राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ? तपाईंहरुको इच्छा ०४७ सालकै वरिपरि फर्किने होला भन्ने लाग्छ मलाई । ”
प्रचण्डले संविधान संशोधन गर्ने हो भने खुला छलफल गर्न आह्वान गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव पनि अघि सारे । दुई ठूला दलको नियतमाथि नै प्रश्न उठाएका प्रचण्डले रातारात गरिएको सहमति षडयन्त्र भएको जिकिर गरे । प्रचण्डको चिन्ता यतिमै सिमित थिएन, उनले पश्चिमी देशहरूको नक्कल गरेर कांग्रेस एमालेले दुई दलीय व्यवस्था लागू गर्न खोजेको बताए । जातीय क्षेत्रिय पार्टीहरूलाई गर्भमै सिद्धाउन लागेका उल्लेख गरे । एमाले अध्यक्ष केपी ओलीसँग बढि आक्रोषित देखिएका प्रचण्डले आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाब दिए । संसद नै विघटन गर्ने बानी परेकाहरुले नैतिकताको पाठ सिकाउन आवश्यक नरहेको प्रचण्डको भनाइ छ । ओलीबाट छलछाम भागेका प्रचण्डले राम्रैसाग कटाक्ष गर्न भ्याए ।
“आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले पनि मलाई नैतिकताको पाठ पठाउने प्रयास गरिराख्नुभयो ।” उनले भने
प्रचण्डले एमाले ओलीलाई आफूले विश्वास गर्दा धोखा पाएको भन्दै संसदमा रोचक टिप्पणी गरेका छन् । एमाले र कांग्रेस मिलेको समाचार आइरहे पनि ओलीले ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर विश्वास दिलाएको बताएका प्रचण्डले देखादेखी धोका दिँदा पनि आफूले पत्तो नपाएको भन्दै आफैलाई कटाक्ष गरे ।
उनले भने “चर्चाका बीचमा क्याबिनेटमा हस्ताक्षर हुन मात्रै बाँकी छ भन्ने कुरा गर्नुभएको थियो । तर, मैले एमाले अध्यक्षसँग चार घण्टा कुरा गरेर आएको छु । राम्रो कुरा भएको छ, ढुक्कसँग काम गर्नु भनेँ । कति लाटो म । ओलीजीको कुरा सुनेपछि म फुर्केँ ।”
प्रचण्डले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले जोडेको नभएर सुशासनको त्रासले जोडेको आरोप लगाए । प्रतिगमन र निरंकुशता हुन सक्ने प्रचण्डको चिन्ता छ । एक कदम अघि बढेर प्रचण्डले कांग्रेस एमालेको मिलनलाई अरु कसैले जुराइदिएको आरोप लगाए । कांग्रेस एमाले मिलेर सरकार बनाएको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओडेको आरोप लगाए । ललिता निवास, भुटानी शरणार्थी प्रकरण, बाँसबारीदेखि बाल मन्दिरसम्मको जग्गा खोज्न थालेपछि त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलाएको प्रचण्डको दाबी छ ।
“कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईंहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ ।” उनले भने
२०७९ साल मंसिरमा भएको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट ल्याएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १८ महिना प्रधानमन्त्री बनेर शुक्रबार सत्ताबाट बाहिर पुगेका छन् । चारपटकसम्म विश्वासको मत पाउन सफल प्रचण्ड पाँचौ पटकमा असफल भएका हुन् । विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा विश्वासको मत माग्न संसदमा उपस्थित प्रचण्डले अन्तिममा आफूलाई मत नदिन आग्रह गरेका थिए ।
क्याटेगोरी : देश
प्रतिक्रिया