Techie IT
  • १ चैत्र २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

वृद्धाश्रम गाउँ [कविता]


सुनसान रात
सायद झ्याउँकिरी पनि बास बसिसकेका थिए
चराचुरुङ्गीका आवाज अघि नै बन्द भैसकेका थिए
अँध्यारोले होला
आकाशमा तारापनि चम्किला थिए
ठूलो स्वरमा फोनको रिङ्टोन बझ्यो
आमा जुरुक्क उठ्नु भो
फोनमा छोराको आवाज सुन्दा
मातृममता जुरुक्क जाग्यो
आत्तिदै भन्नु भो, के भो बाबू सन्चो भएन, ठिकै त छस् ?
हैन बुढीमाउ
यता तरकारी सकिएछ
भोलि गाउँबाट आउने गाडीमा गुन्द्रुक ,आलु ,सिमी , प्याज हाल्दिनु है
सुन्नु भो नि छोराले बक्यो
हुन्छ बाबु,अनि सुन त…..
ल राति छ राखँे है,ऊ एकोहोरो बोल्यो
आमाले केही भन्दै गरेको वास्तै गरेन
आमालाई निद्रा परेन
बल्ल बल्ल आएको फोनमा
कति गुनासा थिए ,कति व्यथा थिए
फोन फर्काउने सोच पनि आएन
सन्तान प्रति भावुक र कोमल आमा
सहरमा रहरसँगै हराएको घराना
भिडमा एक्लै रहेको झल्कोले
ओठ बन्द भए
मनमा तरङ्ग चलिरहे
गाउँ शुन्य भएको
खुला वृद्दाश्रम बनेको छिमेकमा लाश तीन दिनसम्म नउठेको
बिरामी पर्दा पानी खान दिने कोही नभएको
झाँक्री लाग्दा नघटेको
अस्पताल गएर जचाउँन मन लागेको
मामा घरका बुढा बा भेटन नपाएको
सबै भन्ने मन थियो
तर टुँट.. टुँटले भनाइ टुट्यो
छटपटीमा रात मात्र गयो
बिहानै छोरालाई तरकारी खोज्न
बारीमा पसेकी आमा
घरीघरी टोलाइन
गाउँमा स्कुल राम्रा बने
पढ्ने छैनन्,यसो राम्रो पढ्ने र व्यथा देखाउने ठाउँ भए पो
नातिनातिना अटेनन्
बाहानाले गाउँ रित्तो भो
कोखै खाली जस्तो जता हेर्यो वृद्दा मात्र
गाउँ वृद्दाश्रम जस्तो
अनेकौँ तर्कनाले पोल्टो भरिएको पत्तै भएन
पोकापोकी कसेर बुढीमाउ
गाडी कुर्न झरिन्
धपेडी र अनिँदोले
गोडा सही ठाउँमा परेनन्
कतिबेला के भो,पृथ्वी घुम्यो
अचानक
हात फोनमा पर्यो
छोरालाई फोन गयो
आवाज गएन
आमा, आमा, आमा ऊ करायो
आमा तरकारी ,तर्कना र तनावले
अस्ताइन,ओझल परिन्
असिनापसिना भएको छोरा झल्यास भो, मातृवत्सल बन्न नसक्दा ।
उठ्यो पानी खायो
मनोवेगले योजना बनायो ,घरमा कोठा थप्ने
किनकि पहिले उसको घरमा
बाबुआमा राख्ने कोठा नै थिएन ।
सोच्यो
सहरमा घर बन्दा बाबुआमा अट्ने बनुन्
गाउँमा बन्दा पाहुना ।

कविः नवराज सञ्जेल
फूल्चोकी मावि ललितपुर

 


क्याटेगोरी : देश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode